काठमाडौ प्रहरीले अनलाइनबाट ठगी गर्ने ९ चिनियाँसहित १९ जना पक्राउ


काठमाडौ । काठमाडौ उपत्यका अपराध अनुसन्धान प्रहरीले अनलाइनबाट ठगी गर्ने १९ जना चिनियाँ नागरिकसहितका समूहलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दोलखा घर भई काठमाडौँ बस्ने वुद्धिराज श्रेष्ठ, नुवाकोटका इन्द्र तामाङ, सोही जिल्लाका रामकुमार लामा, काठमाडौँ बूढानीलकण्ठका प्रयास भण्डारी, दोलखाका अर्जुन श्रेष्ठ, उदयपुरका अनिता मगर, लमजुङका सुनिता गुरुङ, रामेछापका रविना सुनुवार, गोरखाका अनु गुरुङसहित ९ जना चिनियाँ नागरिक रहेका छन्।
अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरी अनलाइनबाट ठगी गर्ने नौ चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउपछि सार्वजनिक गरेको हो । उनीहरुले ब्यापारबाट ठूलो कमाइ हुने लोभ देखाएर ह्वाट्एपमार्फत चिनजान गरी अपरेशन टिचर्स नामको च्यानलमार्फत अनलाइन कक्षा सञ्चालन गरी ठगी गरेका प्रहरीले जनाएको छ।
उक्त विषयमा परेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रहरी परीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उनीहरुबाट ठगी कार्यमा प्रयोग भएका विभिन्न विद्युतीय सामग्री बरामद गरिएको बताए।
पक्राउ परेकाहरुबाट १२ थान ल्यापटप, ७४ थान सिमकार्ड, ७७ मोबाइल र नगद चार लाख बरामद गरिएको प्रहरीले जनाएको छ।





