रौतहटमा आगलागीबाट जलेर ११ वर्षीया बालिकाको मृत्यु, लाखौँको क्षति

नवलपुर टुडे
२०७९ चैत्र १५ | बिहान ११:१२ बजे

रौतहट, चैत १५ । रौतहटको ईशनाथ नगरपालिका – ६ स्थित एक घरमा गएराती आगलागी हुँदा जलेर एक बालिकाको मृत्यु भएको छ । मंगलबार राति करिब १० बजे स्थानीय मोजिबुल रहमानको घरमा आगो लागेर उनकी ११ वर्षीया छोरी रजिया खातुनको मृत्यु भएको हो ।
रजिया सुतेको कारण आगो लागेको थाहा पाएर भाग्न नसकेपछि जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । सुतेकै अवस्थामा जलेको शरीर उनको घरबाट निकालिएको छ । आगलागीबाट घरपालुवा जनावर र लाखौँको धनमाल जलेर नष्ट भएको छ ।
आगलागीमा ११ वर्षीया बालिकाको मृत्यु भएकोमा संघीय सांसद किरण साहले दुःख व्यक्त गरेका छन् । उनले पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन स्थानीय निकाय र जिल्ला प्रशासन कार्यलयसँग माग गरेका छन् ।
आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । लामखुट्टे भगाउन बालिएको घुरबाट आगो सल्किएको हुनसक्ने प्रहरीको अनुमान छ ।





