विचार/ब्लग

    कानूनको ब्याख्या र प्रहरीको अपेक्षा

    नवलपुर टुडे
    २०७९ चैत्र १४ | बिहान ११:१२ बजे

      (ब.सु.प.) नवलपरासी

      नेपालको संबिधान, प्रहरी ऐन तथा अन्य सम्बद्ध ऐन कानूनहरुले नेपाल प्रहरीको अलावा समाजमा शान्ति सुब्यबस्था कायम गर्ने कार्यलाई तीन तहका सरकारहरु मध्ये स्थानीय सरकारलाई पनि उत्तिकै रुपमा जिम्मेवार बनाएको छ । देशमा रहेका तीन तहकै सरकारहरुको पहिलो दायित्व भनेकै आफ्नो ईलाकालाई कसरी पूर्ण रुपमा शान्त, समुन्नत र बिकसित बनाउन सकिन्छ भन्नेमा ध्यान केन्द्रीत रहेको पाइन्छ । यथार्थ के पनि हो भने जुन समाज शान्त समुन्नत र सभ्य छ त्यहाँ बिकासको गति पनि अत्यन्त उच्च रहेको पाइन्छ । आज युरोपेली देशहरु किन अन्य राज्यहरुको तुलनामा बढि बिकसित छन ? भन्दा त्यहांँको सरकारले आन्तरिक सुरक्षामा खासै ध्यान दिनु पर्दैन, किनकि त्यहांँका नागरिकहरुको राज्यद्धारा निर्मित कानूनको पालनाको स्तर सतप्रतिशत छ । राज्यले बनाएको नियमको सतप्रतिसत पालना गर्नु त्यहांँका मानिसहरुले आफ्नो सबैभन्दा ठूलो कर्तब्य ठान्दछन ।

      कानून पालनाको स्तरले त्यहांँको शान्ति सुरक्षाको उत्कृष्ट अबस्थालाई दर्साउंँछ, जुन यथार्थ पनि हो । जहांँ कानूनको सम्मानपुर्बक पालना हुन्छ त्यहाँको समाज शान्त हुनका साथै बिकासको गति पनि अत्यन्त फराकिलो हुन्छ । यदि देशलाई समुन्नत रुपमा बिकासको गति दिने हो भने नागरिकलाई अधिकारको साथसाथै कर्तब्यको बारेमा पनि प्रशिक्षण गराइनु अत्यन्त जरुरी रहेको छ ।

      सामान्य उदाहरणको रुपमा हामी युरोप तथा अमेरिकाको देशहरु हेरौं, सडक जताततै सफा र सुघ्घर देखिन्छन ।  त्यहांँका नागरिकहरु सडक तथा सार्बजानिक स्थललाई आफ्नो घर जत्तिकै प्यारो ठान्छन । आफूले गाडि चलाउने सडक आफ्नै घरको आंँगन ठान्छन, त्यसकारण त्यहांँ कुनै किसिमको फोहोर देखिदैंन, सडक सफा देखिन्छ । हामी आफ्नो घर माथिल्लो तला देखि बढार्दै आंँगनमा पुगेर जम्मा भएको फोहोर सडक वा सडक छेउमा मिल्काउंँछौं । एकछिनमा हावा हुरी आउंँछ, अघि भर्खर बढारेर फालेको फोहोर सबै हावाहुरीले घरको आँगनमा ल्याई पुर्याउंँछ । अनि झाडु हातमा लिई पुन घर सफा गर्नु परेको झोंकमा राज्य र समाजको नेतृत्व गर्नेलाई सत्तो सराप गर्छौं । यहांँ निर हाम्रो कर्तब्यको तहलाई कहिंँ कतै पनि मेल खांँदैन । तसर्थ नियम कानूनको पालनालाई सबैको साझा प्रतिबद्धता हुन सकेको खण्डमा समाजमा शान्ति सुब्यबस्था कायम गर्ने कार्यले सार्थकता पाउन सक्दछ र निर्धक्क रुपमा नागरिकले आफूलाई सुरक्षित मसहुस गर्दछ ।

      राज्यले ब्यवस्थापिका संसद मार्फत राज्य संचालनको लागि आबस्यक पर्ने कानूनहरुको निर्माण गरेको हुन्छ । त्यसरी निर्माण भएका कानूनहरुको कार्यान्वयन गर्नु राज्यको दायित्व हुन्छ भने निर्मित कानूनको सतप्रतिसत पालना गर्नु नागरिकहरुको कर्तब्य रहन्छ । कानूनको कार्यान्वयन गर्ने सवालमा देशको संबिधान संग बाझिने खालका कुनै कानूनहरु वा नियमहरु भएको अबस्थामा त्यसको निरोपणको लागि ब्यस्थापिका मार्फत कानूनको निर्माण गर्दछ । बिधायीकाले एउटा निश्चित मनसाय राखेर कानूनको निर्माण गरेको हुन्छ । कार्यपालिकाले त्यसलाई ब्यबहारमा कार्यान्वयन गर्दछ भने त्यसमा रहेका असमझदारी र अस्पष्टता हटाउने काम न्यायपालिकाले नजिर मार्फत गर्दछ । संबिधान वा कानूनको ब्याख्या गर्ने कार्य न्यायपालिकाले गर्दछ । ब्यबस्थापिकाले निर्माण गरेको कानून राज्यमा बसोबास गर्ने हरेक नागरिकले जान्नु नागरिकको कर्तब्य हुन आउंँछ । नागरिकले मलाई कानूनको बारेमा थाहा थिएन, राज्यले मलाई यो कानूनको बारेमा जानकारी गराएको थिएन भनेर उसले गरेको अपराधबाट कदापि उन्मुक्ति पाउन वा छुट पाउन सक्दैन ।
      नागरिकले कानूनको बारेमा न्यापालिका मार्फत प्रस्न उठाउन सक्दछ ।

      बिधायीकाले निर्माण गरेको कानून उसलाई चित्त बुझ्छ भन्ने पनि छैन तर, राज्यले बनाएको कानूनको बारेमा कानूनी रुपमा मात्रै नागरिक वा कुनै संस्थाले बिमति राख्न सकिन्छ । कानूनमा अस्पष्टता हुन सक्छ तर, त्यसलाई हटाउने काम न्यायपालिकाले गर्दछ । बिधायीकाले सरकारको उद्धेश्य अनुरुप कानूनको निर्माण गरेको हुन्छ । जुन उद्देश्यलाई ध्यानमा राखेर निर्माण गरिएको हो त्यही हुबहु कानूनमा ब्याख्या नभएता पनि बिधायीकाको बास्तबिक मनसाय पत्ता लगाउनु न्यायपालिकाको कर्तब्य हुन आउंँछ ।

      नेपालमा मादक पदार्थ सेवन गरि सवारी साधन चलाउन नपाइने नियम नआउनु पुर्व वा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरि सवारी साधन चलाउनेलाई सचेतना कक्षा सहित जरिवाना गर्ने ब्यबस्था गर्नु भन्दा अगाडी सवारी दुर्घटनाको अबस्था बिकराल थियो । उक्त ब्यबस्था लागु गरि नियमन गर्न थाले पश्चात लगभग सवारी दुर्घटनाको स्तर आधामा झरेको थियो । दैनिक रुपमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्यामा समेत उल्लेख्य मात्रामा कमी आएको थियो । कतिपयले मापसे चेकिङगलाई हैरानीको रुपमा लिए भने कतिपयले होटेल ब्यबसाय बन्द हुने नाममा आन्दोलनको धम्की पनि दिए । कतिपयले सचेतना कक्षा लिनु परेको पीरले जिन्दगीको सबैभन्दा ठूलो अपमानको महशुश गरे । नेपाल प्रहरीले जुनसुकै ब्यबधानका बीच पनि, अबरोधका बीच पनि र बिरोधका बीच पनि आज पर्यन्त यसलाई निरन्तरता दिएको छ, दिदै आइरहेको छ । जसको मनसाय केबल चालकलाई सुरक्षित रुपमा घरमा पुर्याउनु र मानिसको जीबनको सुरक्षा गर्नु बाहेक अन्य थिएन र छैन पनि । कतिपयले यसलाई राजस्व संकलनको लागि गरिएको अभियान पनि भने तर त्यो पनि कदापी थिएन । हुनत यसको बिरुद्दमा अदालतमा रिट नपरेको पनि होइन तर यो बिषय हैरानीको बिषय नभएको र मानिसको जीबनरक्षा संग जोडिएको बिषय भएको कारण यसले अझ परिष्कृत र बैज्ञानिक प्रबिधिको साथ निरन्तरता पाइरहेको छ । राज्यले तत्कालीन आबस्यक्तालाई मध्येनजर गरि दीर्घकालीन र अल्पकालिन खालका कानून ऐन तथा नियमहरुको तर्जुमा गरेको हुन्छ । ती नियमहरुको पालना गराउनु राज्यका निकायहरुको प्रमुख दायित्व र कर्तब्य हुन आउंँछ । नेपाल प्रहरी अन्तरगतको ट्राफिक प्रहरीले पनि राज्यको जिम्मेवारीलाई जिम्मेवारपुर्वक पालना गराएको मात्र हो । समाजमा भएका खराबीहरुलाई हटाउन राज्यले कानून मार्फत भरमग्दुर प्रयास गरेको हुन्छ । तर कानूनमा भएका कतिपय शाब्दिक अस्पष्टताले गर्दा र बास्तबिक मनसायलाई अनुशरण नगर्दा त्यसले कानून कार्यान्वयनमा समेत यदाकदा समस्या उत्पन्न हुन्छ । तसर्थ कानूनमा लेखिएको अक्षर र त्यसमा लुकेको मनसायलाई समष्टिगत रुपमा बुझ्नु अपरिहार्य हुन्छ । जसको लागि कानून ब्याख्याका नियमहरुको यथार्थ अध्ययन गरि अनुशरण गरिनु बाञ्छनीय हुन्छ ।

      बिधायीकाको मनसाय अनुरुप कानूनको ब्याख्या गर्नु न्यायपालिकाको दायित्व हो । यसका केहि निश्चित नियमहरु छन । कानून ब्याख्याका नियमहरु मध्ये शाब्दिक नियम, दुष्कृती नियम र स्वर्णिम नियम प्रमुख मानिन्छन । कहिलेकाही न्यायधिसले कानूनमा लेखिए भन्दा पनि फरक किसिमले कानूनको ब्याख्या गर्नु पर्ने हुन्छ । कानूनका दफाहरु लामो परिभाषा सहित लेखिएका हुंदैनन । कानूनका बाक्यहरु छोटा छोटा हुन्छन । त्यसको लागि पर्याप्त कानूनि अध्ययन र अनुभव आबस्यक पर्दछ । कानूनको शब्दमा उल्लेख नभएतापनि बिधायीकाको मनसाय पत्ता लगाई त्यसको ब्याख्या गर्नु न्यायपालिकाको लागि आफैमा चुनौती पनि हुन्छ । कानूनको जननी बेलायतमा कानूनको ब्याख्या गर्ने क्रममा बिभिन्न
      नियमहरुको यथार्थ रुपमा प्रयोग भएका छन् । त्यहांँको अदालतले बिभिन्न कानून ब्याख्याका नियमहरुको प्रयोग गरि कानूनको ब्याख्या गरि कानून प्रति रहेका अस्पष्टता हटाउने कार्य गरेको छ । दुष्कृती नियमको अनुशरण गरि ब्याख्या गरिएको बेलायतको एउटा मुद्धा आजपर्यन्त प्रसिद्ध रहेको छ । सन १९६० मा Smith Vs Hughes को मुद्दामा The Street Offences Act 1959 को Section 1 (1) मा Prostitutes ले बाटोमा वा सडकमा हिडडुल गर्ने पैदल यात्रीहरु लगायतका मानिसहरुलाई बिभिन्न तरिकाबाट आकर्षित गरि अबरोध नगरुन भनि प्रतिबन्ध लगाइएको छ ।

      यस मुद्धामा बेश्याबृतीमा लागेका स्वास्नी मानिसहरुले आफ्नो घरको Balconies वा Windows बाट बाटोमा हिडडुल गर्ने यात्रुहरुलाई बिभिन्न किसिमबाट आकर्षित गरेमा उक्त ऐनको दफा १ (१) आकर्षित हुने की नहुने भन्ने प्रश्न उठेकोमा Lord Parker C J ले आफ्नो बिचार ब्यक्त गर्दै भनेका छन की "बिधायिकाको मनसाय बेश्याबृती एउटा घृणित एवं समाज बिरोधी कार्य भएकोले यस्तो खरावी वा दुष्कृती हटाउन वा दबाउन खोजेकोले ऐनमा In The Street भनि उल्लेख भए तापनि balconies वा Windows बाट गरिएको कार्यलाई समेत जनाउने र quot; भनि ब्याख्या गरिएको थियो ।

      नेपालमा सवारी दुर्घटनाको अबस्था बिकराल छ । बिभिन्न कारणहरुले गर्दा दैनिक रुपमा सवारी दुर्घटनाहरु भैरहेका छन । जसको कारण ठूलो मात्रामा धनजनको समेत क्षति भैरहेको अबस्था छ । सांघुरा सडक, अदक्ष चालक र मादक पदार्थ सेवन गरि सवारी साधन चलाउनु र सवारी साधनहरु पुराना हुन्ज्याल सम्म चलाउनु आदि यसका प्रमुख कारणहरु मानिन्छन् । सडकमा पर्याप्त मात्रामा सिसि क्यामेराहरु जडान हुन नसकेको कारण भएका सवारी दुर्घटनाहरुको बारेमा यथार्थ पप्ता लगाउन मुश्किल हुने गर्दछ । चालकहरु आफ्नो गल्ती स्वीकार्न किमार्थ मान्दैनन । मानिसहरुको ज्यान जाने गरि भएका कतिपय सवारी दुर्घटनाहरुमा बास्तबिक र यथार्थ प्रमाण जुटाउन कठिनाई भएको कारण चालकहरु सहज रुपमा रिहाई हुने गरेका छन । घटनालाई अन्य मोड दिन खोज्नु र कानूनको सम्मानपुर्वक पालना नगर्नु यसका कारणहरु मध्ये पर्दछन् ।

      चालकहरुलाई सैद्दान्तिक ज्ञानको अलावा कर्तब्यको बारेमा घनिभूत प्रशिक्षण गराइनु जरुरी रहेको छ । किनभने कुनै पनि सवारी दुर्घटना नियत बश हुने गरेको पाईंदैन । सबै दुर्घटनाहरु भबितब्य प्रकृतिका हुन्छन । तर दुर्घटना भैसके पछि चालक जिम्मेवार नबन्नु र नागरिकले नियतबश गरेको हो भन्ने बुझाईले चालक माथि ज्यानै लिने गरि भएका कुटपिट लगायतका घटनाहरुले गर्दा चालक आफ्नो कर्तब्य निर्बाह गर्न भन्दा ज्यान जोगाउन घटनास्थल बाट उम्कने प्रयासमा लागेका हुन्छन । जसको पीडा घटनामा घाइते भएका पीडितहरु माथि पर्न जान्छ । बेलायतमा तत्कालीन समयमा सडक दुर्घटना सम्बन्धी कानूनमा भएको एउटा ब्यबस्था Issue को रुपमा रहेको थियो । तर त्यहाँको अदालतले तत्कालीन Issue को रुपमा रहेको अस्मन्जस्यतालाई एउटा समयसापेक्ष रुपमा कानून ब्याख्याको नियमको प्रयोग गरि हटाउने काम भएको थियो । जुन आजसम्म गोल्डेन नियमको प्रख्यात नमूनाको रुपमा रहि सो नियम अन्तरगत कानून ब्याख्याको उत्कृष्ट नियम बनेको छ ।

      बिधायीकाको बास्तबिक रुपमा रहेको मनसाय पत्ता लगाई कानूनलाई उपचारमुलक बनाई कानूनलाई सार्थक तुल्याई कानूनले सबैको रक्षा गर्छ भन्ने कुरा सन १९६७ मा बेलायतको Lee VS Knapp को मुद्धामा गरिएको ब्याख्यालाई लिन सकिन्छ । उक्त मुद्धामा बेलायतको Road Traffic Act 1960 को Section 77 (1) मा " The driver of a motor vehicle to stop after an accident" (चालकले दुर्घटना हुन बित्तिकै गाडी रोक्नु पर्दछ) भन्ने कानूनी प्राबधान थियो । तर सवारी दुर्घटना पछि चालकले आफ्नो गाडी एकपल रोकेर गन्तब्य स्थान तिर प्रस्थान गरेकोमा उक्त ऐनको 77 (1) को आशय पुरा भयो की भएन भन्ने प्रस्न उठेकोमा यदि शाब्दिक रुपमा ब्याख्या गर्ने हो भने चालकले ऐनमा
      उल्लेख भए अनुसार नै आफ्नो कर्तब्य पुरा गरेको मानिन्छ । तर त्यस्तो कार्यले उक्त ऐन वा दफाको प्रयोजनहीन एवं बिसंगतियुक्त अर्थ निस्किन जान्छ । त्यस्तो अर्थले बिधायीकाको बास्तबिक मनसायको प्रतिरक्षा गर्दैन् बरु मर्दछ । यसर्थ सम्पूर्ण ऐनलाई अध्ययन गरेर हेर्दा यसमा बिधायीकाको आसय त्यो हो, चालकले दुर्घटना पछि त्यसबेला सम्म गाडी घटनास्थलमा रोकेर राख्नु पर्दछ जबसम्म दुर्घटनाको अनुसन्धान गर्ने अधिकारी आएर सो सम्बन्धी अनुसन्धान गर्दैन । तसर्थ यस मुद्धामा चालकले उक्त दफाहरुको कानूनी प्राबधान अनुसारको कर्तब्य पुरा गरेको मानिदैंन भनि ब्याख्या गरेको थियो ।

      नेपाल प्रहरी संगठनले स्थापना काल देखि नै समाजमा रहेका बिभिन्न निकायहरु संगको सहकार्य र समन्वयमा शान्ति सुब्यबस्था कायम राख्ने र अपराध नियन्त्रण गर्ने कार्यलाई प्रमुख प्राथमिकताका साथ कार्यान्वयन गर्दै आइरहेको छ । देशमा शान्ति सुरक्षा कायम गर्ने कार्य आफैमा एउटा अत्यन्त चुनौतिपूर्ण कार्य हो । सामान्य किसिमको प्रहरी अह्रनखटनले मात्र वा चोकचोकमा प्रहरी तैनाथि गर्दा मात्र शान्ति ब्यबस्था कायम हुन्छ भन्नु किमार्थ सहि मान्न सकिदैंन । कानूनको सहि रुपमा पालना गर्ने दायित्बोध आमरुपमा हुन सकेमा समाजलाई शान्त र सुरक्षित बनाउन कोशेढुङगा साबित हुन सक्छ । हुनत यसको लागि समग्र राज्य संयन्त्र नै प्रयोग भएको हुन्छ । तथापी नागरिकमा हुने कर्तब्यबोध नै यसको लागि उत्कृष्ट सहकार्य हुन सक्छ । राज्यद्धारा निर्मित कानूनकोकार्यान्वयनमा नेपाल प्रहरीले गरेको सकारात्मक र जिम्मेवारयुक्त प्रयासमा सबैले आ-आफ्नो तहबाट सहयोग गरेको खण्डमा पक्कै पनि देशलाई शान्त र समुन्नत बनाउन कुनै कसर बांकी रहने छैन ।

      भोजराज पाण्डेय
      प्रहरी नायव उपरीक्षक
      जिल्ला प्रहरी कार्यालय (ब.सु.प.) नवलपरासी

        कमेन्टहरु