गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई मार्गप्रशस्त गर्न नेपाली कांग्रेसको आग्रह


कास्की । माओवादीले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई कांग्रेसले मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।कांग्रेस संसदीय दल गण्डकीले शनिबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था नरहेकाले कामचलाउ अवस्थामा राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको हो ।
बहुमत गुमाइसकेको अवस्थामा सरकारसमेत कामचलाउ हैसियतमा पुगेको कांग्रेसको भनाइ छ । ‘अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नरहेको अवस्थामा मुख्यमन्त्रीले राजीनामा दिएर जतिसक्दो छिटो मार्गप्रशस्त गर्नु नै प्राकृतिक हुनेछ, प्रदेशको हितमा हुनेछ,’ कांग्रेस दलका नेता सुरेन्द्रराज पाण्डेले भने, ‘कामचलाउ सरकारले आर्थिक दायित्व सिर्जना गर्ने, कर्मचारी नियुक्ति, सरुवा बढुवालगायतको काम गर्नु न्यायसंगत मानिँदैन ।’ उनले बहुमत गुमाइ सकेर अल्पमतमा परेको अवस्थामा कुनै पनि दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्नसमेत सरकारलाई चेतावनी दिए ।
छिटोछिटो राजनीतिक मोर्चाबन्दीसँगै सत्तासमीकरण फेरबदल हुनु देशका लागि हितकर नहुने भनाइ पाण्डेको थियो । निर्वाचनका वेलामा दलहरूबीच भएका तालमेल, त्यसपछि बनेको सरकारमा भएको समीकरण, झन्डै दुई महिनापछि पुनः अर्को गठबन्धन हुँदै देशको राजनीति चलेको भन्दै उनले छिटोछिटो राजनीतिक मोर्चाबन्दी फेरबदल हुनु मुलुकलाई आवश्यक राजनीतिक स्थिरताका लागि हितकर नहुने बताए । निर्वाचनपछि केही समय ‘लिक’बाहिर पुगेको राजनीति राष्ट्रपति निर्वाचनपछि पुनः सही ‘लिक’मा प्रवेश गरेको उनको भनाइ थियो ।
राष्ट्रिय राजनीतिको मर्म र भावनाअनुसार नै माओवादीले गण्डकी प्रदेश सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकोमा कांग्रेसले स्वागत गरेको पाण्डेले बताए ।





