सर्वसाधारणका लागि दैनिक २ घण्टा खुल्यो रानीपोखरी


काठमाडौ । जमलस्थित रहेको रानीपोखरी सर्वसाधारणका लागि खुला भएको छ । दैनिक बिहान ६ देखि आठ बजेसम्म दुई घन्टाका लागि रानीपोखरी खुला गरिएको हो ।
रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि खुला गरिएको हो । यसअघि तिहार र छठको समयमा मात्र खुल्ने गरेको थियो । गत २८ फागुनदेखि नै सर्वसाधारणका लागि रानीपोखरी खुला गरिएको महानगरले जनाएको छ । ‘अहिले बिहान दुई घन्टा मर्निङवाक र व्यायाम गर्नेहरूका लागि खुला गरेका हौँ,’ महानगरका प्रवक्ता नवीन मानन्धरले भने, ‘भविष्यमा कुनै समस्या आएन भने सधंँका लागि खुला नै रहन्छ ।’
महानगरले केही समयअगाडि रानीपोखरी सरसफाइ पनि गरेको थियो । महानगरका अनुसार सर्वसाधारणका लागि खुला भएको रानीपोखरी अवलोकनपश्चात् आउने प्रतिक्रियालाई मध्यनजर गरेर पूर्ण रूपमा खुलाउने वा के गर्ने भन्ने हुनेछ । ‘सर्वसाधारणबाट आउने प्रतिक्रियालाई आधार मानेर हामी अगाडि बढ्छौँ । अहिलेका लागि हामीले रानीपोखरी खुला गरेका छौँ,’ प्रवक्ता मानन्धरले भने ।
तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८ पुस ०७८ मा पुनर्निर्माण सम्पन्न गरेर पोखरीको स्वामित्व महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यमार्फत महानगरलाई हस्तान्तरण गरेको थियो ।
प्राधिकरणले करिब २५ करोड लागतमा तीन वर्षमा पुनर्निर्माण सकाएको थियो । तत्कालीन राजा प्रताप मल्लले वि.सं. १७२७ (नेपाल संवत् ७९०) मा छोरा चक्रपालेन्द्र मल्लको मृत्युबाट विक्षिप्त बनेकी रानीलाई सान्त्वना दिन रानीपोखरी र पोखरीको बीचभागमा बालगोपालेश्वर मन्दिरको निर्माण गराएको इतिहासमा उल्लेख छ ।
मन्दिर पुनर्निर्माणमा सुर्की, चुना, ढुंगा, काठ र कलात्मक इँटा प्रयोग गरिएको छ ।





