बाल संरक्षण प्रवर्धन र हिंसा निवारणमा कृष्णनगरका जनप्रतिनिधिको प्रतिबद्धता


कपिलवस्तु, चैत्र १० । बाल संरक्षण प्रवर्धन र हिंसा निवारण सम्बन्धी कृष्णनगर नगरपालिकाका जन प्रतिनिधिसँग एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
वडाध्यक्ष हरिपाल चतुर्वेदीको अध्यक्षता, कृष्णनगर नगरपालिकाको आयोजना तथा युनिसेफ नेपाल फिल्ड कार्यालय भैरहवा रूपन्देहीको सहयोगमा अभिमुखिकरण कार्यक्रम कृष्णनगर स्वास्थ्य चौकिमा सम्पन्न भएको हो । कार्यक्रममा कार्यक्रमको उद्देश्य तथा बाल संरक्षण प्रवर्द्धन र हिंसा नियन्त्रणमा जनप्रतिनिधिको भूमिका के के हुन सक्छ भन्ने बिषयमा युनिसेफका प्रकाश कैनिले प्रकाश पारेका थिए ।
कार्यक्रममा बालबालिकाको परिभाषा सहित बाल अधिकार, बाल संरक्षण, लैङ्गिक हिँसा र यसको प्रभाव, मनोसामाजिक समस्या र यसको निराकरणका बारेमा जनप्रतिनिधिहरुबीच छलफल गरिएको थियो । बाल संरक्षण कसरी गर्ने, समाजमा घट्न सक्ने लैंगिक हिंसाका तथा मनोसामाजिक समस्याका घटनाको पहिचान कसरी गर्ने, हिंसा निवारणका कानुनी मान्यता लगायत बिषयमा सिद्धार्थ सामाजिक विकास केन्द्रका प्रकाश घिमिरेले सहजीकरण गरेका थिए ।
बाल संरक्षण, लैङ्गिक हिँसा र मनोसामाजिक सेवा प्रबाह गर्न वडाको भुमिकाको बारेमा छलफल गर्दै, पालिकाको निति तथा कार्यक्रम तर्जुमाको बेला वडा स्तरबाट नै बालबालिका तथा महिलाको हक अधिकार प्रवर्द्धन गर्ने किसिमका कार्यक्रमहरु आगामी आर्थिक बर्षहरुमा तय गर्न सहभागि जन प्रतिनिधिहरुले प्रतिबद्धता जाहेर गरे ।
कार्यक्रममा कृष्णनगर नगरपालिकाका जन प्रतिनिधि, समाजसेवी, नगर कार्यपालिका सदस्य, पत्रकार लगायतको उपस्थित रहेको थियो । कार्यक्रम संचालन कृष्णनगर नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले गरेकी थिइन् ।





