समाचार

    तीन लाख धरौटीमा छुटे डाक्टर पङ्कज चौधरी 

    नवलपुर टुडे
    २०७९ चैत्र १० | मध्यान्ह ०४:१२ बजे

      महोत्तरी, चैत १० । महोत्तरीको चर्चित दाइजो मुद्दाका आरोपी डाक्टर पङ्कज चौधरी जेलमुक्त भएका छन् । बिहीबार उच्च अदालत जनकपुरका न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलासले चौधरीलाई तीन लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो। सोही अनुसारको रकम बुझाएर चौधरी आज जेलमुक्त भएका हुन् । 

      दाइजोका कारण आफूमाथि घरेलु हिंसा गरेको भन्दै पत्नी नेहा चौधरीले डाक्टर चौधरी र उनका परिवारविरूद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर गरेकी थिइन् । मुद्दाको प्रारम्भिक सुनुवाइ गदै जिल्ला अदालतले पुस २२ गते चौधरी र उनका ६० वर्षीय बुवा रामप्रवेश चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरूद्ध चौधरी उच्च अदालत पुगेका थिए। जलेश्वर कारागारमा रहेका उनी उच्च अदालतको आदेशपछि शुक्रबार रिहा भएका हुन् । 

      तीन वर्षको प्रेमसम्बन्धपछि ०७८ फागुन २५ गते पंकज र नेहाले विवाह गरेका थिए । विवाहका लागि पंकजले आफ्नो माइती पक्षबाट एक करोडभन्दा बढी लिएको नेहाले बताउँदै आएकी छन् । त्यसपछि पनि दाइजोबापत् काठमाडौंमा घर नकिनिदिएको भन्दै पंकजका परिवारले आफूमाथि शारीरिक र मानसिक हिंसा गरेको भन्दै अदालतमा मुद्दा दायर गरेकी थिइन् ।
          
      पङ्कज चौधरीले पत्नी नेहाको सबै आरोप निराधार रहेको र आफूलाई जानी जानी फसाउने तथा आफ्नो करियर खराब पार्न पत्नी नेहाले झूठा आरोप तथा मुद्दा लगाएको आरोप लगाउँदै आएका छन् । बुहारीले दिएको दाइजोसम्बन्धी कसुरमै डाक्टर चौधरीका बुवा ६० वर्षीय रामप्रवेश चौधरी भने अझै जेलमै छन् । रासस

        कमेन्टहरु