देश

    विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ९० हजार भन्दा बढी

    नवलपुर टुडे
    २०७९ चैत्र १० | मध्यान्ह ०२:१२ बजे

      काठमाण्डौ, चैत १० । राष्ट्रिय जनगणना २०७८ का अनुसार २१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेका छन् । राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनले २१ लाख ९० हजार ५१२ जना नेपाली विदेशमा बसोबास गर्ने तथ्यांक देखाएको हो ।

      १५ लाख ५५ हजार ९६१ घर परिवारका १७ लाख ९९ हजार ६७५ पुरुष र ३ लाख ९० हजार ९१७ जना महिला गरी २१ लाख ९० हजार ५९२ जना घरपरिवारमा अनुपस्थित विदेशमा अक्सर बसोबास गर्ने नेपालीको सङ्ख्या रहेको छ । यो सङ्ख्या २०६८ सालको राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो । २०६८ सालको जनगणनामा १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा बसोबास गरेको पाइएको थियो ।

      अक्सर विदेशमा बसोबास गर्ने सङ्ख्यामा देशभरका नगरपालिकाबाट ६७.०४ प्रतिशत रहेका छन् भने गाउँपालिका क्षेत्रबाट विदेश जानेहरू ३२.९६ प्रतिशत रहेका छन् । प्रदेशगत रूपमा भने सबैभन्दा धेरै लुम्बिनी प्रदेशबाट १९.२ प्रतिशत जनसङ्ख्या विदेशमा बसोबास गर्ने गरेको पाइएको छ । सबैभन्दा कम कर्णाली प्रदेशबाट ४.३ प्रतिशत देश बाहिर रहेको पाइएको छ ।

      विदेशमा अक्सर बसोबास गर्ने परिवारमा अनुपस्थित सबैभन्दा बढी काठमाण्डौ, कैलाली, झापा, रुपन्देही र मोरङबाट छन् । यी प्रत्येक जिल्लाहरूबाट कम्तीमा ७० हजारभन्दा बढी व्यक्ति अनुपस्थित देखिएको छ ।

        कमेन्टहरु