भारतमा लागुऔषध चरेससहित दुई नेपाली पक्राउ

नवलपुर टुडे
२०७९ चैत्र ८ | मध्यान्ह ०७:१२ बजे

दार्चुला । लागुऔषध चरेससहित भारतमा दुई नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा महाकाली नगरपालिका–६ पौनेखोलाका ३० वर्षीय उमेश बहादुर पाल र दुहु गाउँपालिका–१ पिपौलचौरीका २६ वर्षीय रवि कुवँर रहेको छ ।
उनीहरुलाई उत्तराखण्ड प्रहरीको विशेष अपरेसन समूहले चैत ६ गते धारचुला तहसिल नयाँबस्तीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुको साथबाट तीन किलो ६८० ग्राम लागुऔषध चरेशसहित सोमबार बेलुकी ७ बजेतिर पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनाविरुद्ध लागूऔषध ओसारपसार सम्बन्धी एनडीपीएस एक्टअन्तर्गत मुद्दा चलाइएको उत्तराखण्ड प्रहरीले जनाएको छ । बरामद गरिएको चरेश दार्चुला नाकाबाटै भारत लगिएको आशङ्का गरिएको छ ।
भारतको धारचुला क्षेत्रमा चरेशसहित दुई जना पक्राउ गरिएको खबरपछि अहिले खलङ्गास्थित सीमा नाकाको चेकजाँचमा कडाइ गरिएको प्रहरीले जनाएको छ ।





