‘पानी र सरसफाई गतिशील परिवर्तन’ मूल नाराका साथ कृष्णनगरमा मनाइयो विश्व पानी दिवस


कपिलवस्तु, चैत्र ८ । विश्वमा देखा परेको स्वच्छ खानेपानीको संकट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट्र संघले सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसका रुपमा मनाउन थालेको हो ।
‘पानी र सरसफाई गतिशील परिवर्तन’ मूल नाराका साथ कृष्णनगर नगरपालिकाको आयोजनामा कृष्णनगरमा विश्व पानी दिवस अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । कार्यक्रमका अध्यक्ष कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, प्रमुख अतिथि कृष्णनगर नगरपालिका उप प्रमुख आरती देवी चौधरी, विशिष्ट अतिथिमा कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्मा, अतिथिमा स्वास्थ्य शाखाका बिष्णु पौडेल, शिक्षा शाखाका प्रमुख बलराम पन्थी लगायत रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले नगरमा स्वच्छ पानी तथा सर सफाई कार्यक्रमलाई स्थान दिइने बताउँदै स्वच्छ पानी पिउन सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै विशिष्ट अतिथि शर्माले पानी जीवनका लागी अमृत फल रहेको बताउँदै पानीको महत्व सबैले बुझेर पानीको मुहान सफा राख्नुपर्ने बताए । पानीको महत्व र दूषित पानीबाट लाग्ने रोगहरुको बारेमा बिस्तृत जानकारी दिँदै नगरमा स्वच्छ पानी पिउनका लागी नगरले अभियानको रूपमा लैजानुपर्ने दयाराम शर्माले जोड दिनुभयो ।
कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, संघ संस्थाका प्रतिनिधि, पत्रकार, कर्मचारी, कृष्णनगर खानेपानी संस्थानका पदाधिकारी लगायतको उपस्थित रहेको थियो । पालिका पोषण सहजकर्ता पृथीपाल तेलीले कार्यक्रम संचालन गरेका थिए ।





