‘वानएक्स बेट’मार्फत सट्टेबाजी गराउने ६ एजेन्ट पक्राउ


काठमाडौं, चैत ८ । ‘वानएक्स बेट’मार्फत् सट्टेबाजी गराएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखाले उनीहरूलाई सोमबार लोकन्थली, पेप्सीकोला, वानेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा जुम्लाको चन्दननाथ नगरपालिका–६, खलंगा घर भइ हाल भक्तपुरको लोकन्थली बस्ने २३ वर्षीय दिलीपसिंह कठायत, सोही नगरपालिकाको वडा नं १० गैरीगाँउ घर भइ लोकन्थली बस्ने २३ वर्षीय भुपालराज न्यौपाने, वडा नं ५ तलिवाडा घर भइ भक्तपुरको गठ्ठाघर बस्ने १९ वर्षीय नयनराज भण्डारी रहेका छन् ।
त्यस्तै, सर्लाहीको बलरा नगरपालिका–५, घर भइ काठमाडौं–३२ बस्ने २८ वर्षीय वरुणकुमार सिंह, काठमाडौं–३२ बस्ने ३२ वर्षीय वासुदेव पाण्डे, काभ्रेपलाञ्चोकको मादनकुडारी गाउँपालिका–१ घर भइ बालुवाटार बस्ने २६ वर्षीया शिवानी तामाङ रहेका छन् ।
उनीहरूले बेटिङ कम्पनी वानएक्स बेटमार्फत् सट्टेबाजी गराएको आरोप छ । पक्राउ परेका व्यक्तिहरू माथिल्ला तहका एजेन्ट हुन् । कठायतले विगत एक वर्षदेखि, न्यौपानेले ९ महिना, भण्डारी र सिंहले ६ महिना, तामाङले ८ महिनादेखि र पाण्डेले एक महिनादेखि एजेन्टको काम गर्दै आएका थिए ।
विभिन्न ३५ जना व्यक्तिको नाममा खोलिएका डिजिटल वालेटहरूमा ४१ करोड १५ लाख ८९ हजार २७६ रुपैयाँ बराबरको कारोबार भएको अनुसन्धानबाट देखिएको कार्यालयका प्रमुख एवं एसएसपी मनोजकुमार केसीले बताए । यस्तै, अन्य १५ जनाका ३४ वटा बैंक खाताबाट १२ करोड २५ लाख ३५ हजार ९११ बराबरको बेटिङ कारोबार भएको देखिन्छ ।
अहिले यी सबै खाता रोक्का गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।





