दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु


दैलेख, चैत ८ । दैलेखमा एलपी ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । बुधबार बिहान पौने ९ बजे नेपालगन्जबाट दैलेख आउँदै गरेको भे १ क २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका-४ तालपोखरीमा दुर्घटना भएको हो ।
दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए । मृत्यु हुनेमा बाँकेका अन्दाजी ३१ वर्षीय चालक कृष्ण चौधरी, कामदारहरू विष्णु चौधरी र लक्षिराम चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सहचालक प्रकाश कुमाई भने सकुशल छन् ।
ट्रक रोकेर ओट हाल्ने क्रममा ओट हाल्न नपाउँदै ट्रक माथिल्लो घुम्तीबाट खसेर तल्लो घुम्तीमा पुगेको डिएसपी लम्सालले जानकारी दिए । ट्रक सडकमै खसेकाले ठूला सवारी साधनका लागि बाटो अवरूद्ध भएको छ । घटनास्थलमा प्रहरी निरीक्षकसहितको टोली पुगेको छ ।





