समाज

    राष्ट्रिय दलित मुक्ति जागरण अभियान लहानमा हजारौ सहभागी

    नवलपुर टुडे
    २०७९ चैत्र ८ | बिहान ११:१२ बजे

      सिरहा । ५८औं अन्र्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा सिरहाको लहानमा जनजागरण सभा सम्पन्न भएको छ । राष्ट्रिय दलित मुक्ति जागरण अभियानले आयोजना गरेको कार्यक्रममा हजारौ सहभागीहरुको ¥याली बजार परिक्रमा गरि सभामा परिणत भएको थियो ।

      अभियानका केन्द्रिय संयोजक राजेश विद्रोहीले विभेद विरुद्धको दिवसनै विभेदमा परेको भन्दै समाजमा विद्यमान जातीय विभेद तथा छुवाछुतका अवशेष अहिले पनि बाँकी नै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “इतिहासदेखि दलित समुदायमाथि गरिदै आएको पशुतुल्य अमानवीय विभेदको विरुद्धमा आजको युगको गैर दलित पुस्ताले आफ्नो पुर्खाहरुले गरेको गल्ती कमिकमजोरीहरुको क्षतिपुर्ती बापत दलित मुक्ति र अधिकारको लागि सबैभन्दा बढी झण्डा बोकेर आन्दोलित हुनुपर्ने आजको आवश्यक्ता र दायित्व हो ।”

      कार्यक्रममा सुबोध गौतम, प्रकास अनुराग, सुधा साह, कामेश्वर प्रदेशी लगाएतका राष्ट्रिय कालाकारहरुको उपस्थिति रहेको थियो । कलाकारहरुले आफ्नो कला मार्फत जातीय विभेद तथा छुवाछुतलाई समाजबाट हटाउनुपर्नेमा जोड दिएका थिए । खासगरी पछिल्लो समय ऐन, कानुन र सार्वजनिक प्रतिबद्धताअनुरुप सामाजिक जागरणका क्रियाकलाप अगाडि नबढ्दा विभेदका घटनाहरु भइरहेका छन् । बढ्दो जातीय विभेद तथा छुवाछुतको घट्नाले बहसलाई फेरि नयाँ ढङ्गले अगाडि बढाउँदै राज्यबाटै हस्तक्षेपकारी भूमिका जरुरी रहेको सामाजिक अगुवाको भनाई छ ।

      अभियन्ता अर्जन थपलिया व्यवस्था बदलिए पनि मानसकिता नबदलिएका कारण अहिले पनि वर्गीय, जातीय, लैङ्गिक र क्षेत्रीय आधारमा नेपाली समाजमा विभेद जीवित रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “संविधान, कानुन र ऐन छन् तर कार्यान्वयन हुँदैनन् । असन्तुलित सामाजिक शक्ति सन्तुलनको संरचनाले नै राज्यको उपस्थिति र भूमिकालाई पनि प्रभावित गरिरहेको छ । कमजोर वर्ग समाजमा अधिकारविहीन छन् ।” उहाँका अनुसार व्यवस्था परिवर्तन भएपनि मानिसको व्यवहारमा परिवर्तन हुन सकेको छैन ।

      नेपालमा जातीय विभेद तथा छुवाछुत कानुनीरुपमा वर्जित छ । तर पनि जातीय भेदभाव तथा छुवाछुतका कारण हुने अमानवीय व्यवहार अहिले पनि रोकिएको छैन । अझ जातीय, भौगोलिक उत्पीडन र विभेदको चर्को विरोध गर्दै समावेशीता र संघीयताको सबैभन्दा बढी वकालत गर्ने मधेस प्रदेशमा नै जातीय विभेद तथा छुवाछुतका घटना डरलाग्दो रहेको सरोकारवालाको भनाइ छ ।

      सन् १९५९ मार्च २१ मा दक्षिण अफ्रिकाको तत्कालीन गोरा सरकारले काला जाति माथि दमन गर्न रङ्गभेदी नीति लागू गर्दा भएको विरोध प्रदर्शनमा ६९ जनाको मृत्यु भएको सम्झनामा सन् १९६६ मा सबै प्रकारका जातीय विभेद उन्मुलन सम्बन्धी अन्र्तराष्ट्रिय महासन्धी पारित गरे यता हरेक वर्ष मार्च २१ मा यो दिवस मनाउने गरिएको हो । नेपालले सन् १९७१ मा सो महासन्धीलाई अनुमोदन गरेको थियो ।

      337333063 1935450483464562 3948996371629264234 n 337446682 977958343582591 7772655393902349127 n

        कमेन्टहरु