देश

    उपराष्ट्रपति रामसहायप्रसाद यादवको शपथ आज

    नवलपुर टुडे
    २०७९ चैत्र ६ | बिहान ०८:१२ बजे

      काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको शपथ सोमबार हुने भएको छ । निर्वाचन आयोगले आइतबार उपराष्ट्रपति निर्वाचनबारेको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको थियो । 

      प्रतिवेदन बुझाएसँगै राष्ट्रपतिको कार्यालयले आजका लागि शपथ ग्रहण तय गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा शपथ लिने जनाइएको छ ।

      निर्वाचन आयोगका अनुसार उपराष्ट्रपतिको निर्वाचनमा कुल ५२ हजार ६२८ मतभारमध्ये यादवले ३० हजार ३२८ मतभार प्राप्त गरी विजयी भएका थिए । उपराष्ट्रपति पदमा अष्टलक्ष्मी शाक्य, प्रमिलाकुमारी यादव र ममता झा पनि उम्मेदवार थिए  । 

      कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यादवलाई सपथ गराउनेछन् । यादव गत चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । उपराष्ट्रपतिमा निर्वाचित भएसँगै यादवले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिइसकेका छन् ।

        कमेन्टहरु