डिडिसीले लिटरमै ११ रुपैयाँ बढायो दूधको मुल्य


काठमाडौ । सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डिडिसी) ले दूधको मूल्य लिटरमा ११ रुपैयाँले बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहमतिमा संस्थानले एकैपटक लिटरमा ११ रुपैयाँले मूल्य बढाएको हो ।
संस्थानका सूचना अधिकारी राजेन्द्र अधिकारीका अनुसार उपभोक्ताको मूल्य अब लिटरको ९७ रुपैयाँ तिर्नुपर्ने छ । यसअघि उपभोक्ताले प्रतिलिटर ८६ रुपैयाँमा खरिद गर्दै आइरहेका थिए । उपभोक्ता मूल्य बिहीबारबाट लागू हुने अधिकारीले बताए ।
किसानले पाउने मूल्य भने १ चैतबाट लागू भएको थियो । यसअघि १९ फागुनमा मन्त्रिपरिषद्ले प्रतिलिटर दूधको मूल्य १० रुपैयाँले बढाउने निर्णय गरेको थियो । किसानले पाउने मूल्य ५६ रुपैयाँबाट ६५ रुपैयाँ पु¥याएपछि डिडिसीले पनि उपभोक्ता मूल्य तोकेको हो । त्यस्तै, संस्थानले स्ट्यान्डर्ड दूध प्रति पाँच सय एमएल ४३ रुपैयाँबाट बढाएर ४८ रुपैयाँ पुर्याएको छ ।
फूल क्रिम प्रति प्याकेट ५७ र गाईको दूधको मूल्य ५१ रुपैयाँ छ । यस्तै, लो फ्याट चिया दूधको मूल्य ४० रुपैयाँ छ । अधिकारीका अनुसार सबै दूधमा प्रति प्याकेट साढे ५ रुपैयाँ बढाइने छ । घिउ, पनिर, दहीलगायतको मूल्य बढाउने विषयमा थप छलफल गरेर तोकिने बताए । उनले भने, ‘दूग्ध पदार्थसँग जोडिएको मूल्य हामी केहीदिनमा सार्वजनिक गछौं ।’





