समाचार

    को बन्ला प्रहरीको नयाँ आईजीपी ? पहिलोपटक महिला पनि दौडमा 

    नवलपुर टुडे
    २०७९ चैत्र १ | मध्यान्ह ०१:१२ बजे

      काठमाडौ । नेपाल प्रहरीमा रिक्त पाँच अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि नायब महानिरीक्षक (डीआईजी)हरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण वज्राचार्यको नाम सिफारिस गर्‍यो ।

      ११ चैतदेखि प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले प्रहरीको ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अकाश पाउने भएपछि एआईजीबाट आईजीपी नियुक्त गर्न गृह मन्त्रायलले बढुवा गरेको छ ।

      यद्यपि, प्रहरीको ३० वर्षे सेवा अवधि हटाउनेबारे भने गृहकार्य भइरहेको छ । ३० वर्षे सेवा अवधि कायमै रहे हाल एआईजीमा बढुवा सिफारिस भएका कुँवर, राई, थापा, ज्ञवाली र वज्राचार्य मध्येबाट एक जना एआईजी आईजीपी बन्नेछन् । 

      हाल बढुवा सिफारिस भएका कुँवर मधेस प्रदेश, राई लुम्बिनी, थापा बागमती, ज्ञवाली कोसी प्रदेश प्रहरी प्रमुख र वज्राचार्य प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग प्रमुखका रूपमा कार्यरत छन् । २०५१ चैत ५ र २०५२ भदौमा प्रहरी निरीक्षकमा भर्ना भएका उनीहरूसँगै ८ असारमा १७ जना एकैसाथ एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए ।

      तर, उनीहरूले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै आईजीपी बन्ने दौडमा पुगेका हुन् । सरकारलाई पाँच जनामध्ये आफूलाई उपयुक्त लागेको पात्रलाई आईजीपी बनाउन पाउने सुविधा छ । आईजीपीको प्रतिस्पर्धामा पहिलोपटक महिला एआईजीसमेत पुगेकी छिन् । 

      यसअघि एआईजी पूजा सिंह बढुवा भए पनि आईजीपीको प्रतिस्पर्धी भने थिइनन् । त्यस्तै, पूर्वडीआईजी पार्वती थापासमेत एआईजी हुन नपाउँदा प्रतिस्पर्धाबाट रोकिएकी थिइन् । 

      हाल बढुवा सिफारिस भएकी किरण वज्राचार्य भने आईजीपीको प्रतिस्पर्धामा पहिलो महिला हुन् । पूजा सिंहपछि प्रहरीको एआईजीमा बढुवा हुने उनी दोस्रो महिला हुन् । उनीसँगै डीआईजीमा बढुवा भएका उनकै ब्याचीहरू मीरा चौधरी, दुर्गा सिंह र किरण राणा भने पछि परेका छन् ।

      चैत ११ मा आईजीपी सिंहले अवकाश पाउँदा प्रहरीमा फेरि ४ एआईजीको दरबन्दी रिक्त हुनेछ । सिंहकै ब्याची एआईजीहरू सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनीले अवकाश पाउनेछन् । रिक्त हुन चार एआईजीका लागि डीआईजीहरू सन्दीप भण्डारी, सुदीप गिरी, टेक तामाङ, उमेशराज जोशी, मीरा चौधरी, रामदत्त जोशी, भीम ढकाल, दुर्गा सिंह, पोषराज पोखरेल र किरण राणाबीच प्रतिस्पर्धा हुनेछ ।

        कमेन्टहरु