समाचार

    मदिराका विज्ञापन तत्काल हटाउन सबै सञ्चारमाध्यमलाई विज्ञापन बोर्डको निर्देशन

    नवलपुर टुडे
    २०७९ फाल्गुन २८ | मध्यान्ह ०७:११ बजे

      काठमाडौ, फागुन २८ । विज्ञापन बोर्डले सबै किसिमका सञ्चारमाध्यमहरुलाई मदिराजन्य पदार्थका विज्ञापन तत्काल हटाउन निर्देशन दिएको छ । बोर्डका प्रवक्ता एवम् प्रमुख प्रशासकीय अधिकृत निशानराज गौतमले आइतबार एक विज्ञप्ति जारी गर्दै कुनै पनि सञ्चारमाध्यमबाट अब उप्रान्त मदिराको विज्ञापन नगर्न नगराउन निर्देशन दिएका हुन् ।

      गौतमले सर्वोच्च अदालतले गत फागुन ११ गते नै कुनै पनि सञ्चारमाध्यमबाट मदिराको विज्ञापन नगर्न, नगराउन भनि अन्तरिम आदेश दिएको जानकारी दिएका छन् । ‘सम्मानित सर्वोच्च अदालतबाट फागुन ११ गते कुनै पनि सञ्चारमाध्यमबाट मदिराको विज्ञापन नगर्नु, नगराउनु तथा त्यसको अनुगमन गरी दुई महिना भित्र बोर्डले अनुगमन प्रतिवेदन अदालतमा पेश गर्नु भनी अन्तरिम आदेश भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘उक्त विषयमा विज्ञापन बोर्डको फागुन २६ गते बसेको बैठकले विज्ञापनदाता, विज्ञापन एजेन्सी, छापा, विद्युतीय, डिजिटल माध्यमका साथै सामाजिक सञ्जालबाटसमेत मादक पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न, नगराउन निर्देशन जारी गर्ने निर्णय भएकोले कुनै पनि सञ्चारमाध्यमबाट अब उप्रान्त मदिराको विज्ञापन नगर्नु नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

      बोर्डले बाह्य विज्ञापन (होर्डिङ्ग बोर्ड) मा समेत मदिराको विज्ञापन गर्न नपाइने जनाएको छ । त्यस्ता विज्ञापन तत्काल हटाउन विज्ञापनदाता, विज्ञापन एजेन्सीका साथै स्थानीय तहलाईसमेत बोर्डले अनुरोध गरेको छ । 

      सर्वोच्च अदालतको आदेश बमोजिम विज्ञापन बोर्डले मदिराको विज्ञापन प्रकाशन भए नभएको अनुगमन गरिरहेको जनाउँदै गौतमले कोही कसैबाट त्यस्तो विज्ञापन प्रकाशन तथा प्रसारण भएको पाइएमा विज्ञापनदाता, विज्ञापन एजेन्सी तथा सञ्चारमाध्यमलाई विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा जनस्वास्थ्य सेवा ऐन, २०७५ र प्रचलित कानुन बमोजिम कारवाही हुने जनाएको छ । 

      photo 2023 03 12 19 39 31

        कमेन्टहरु