पासाेमा अल्झिएकाे अवस्थामा चितुवा मृत फेला

नवलपुर टुडे
२०७९ फाल्गुन २८ | मध्यान्ह ०७:११ बजे

गुल्मी, फागुन २८ । गुल्मीमा पासोमा अल्झिएको अवस्थामा चितुवा मृत फेला परेको छ । छत्रकोट गाउँपालिका – २ मनबागमा आइतबार भाले चितुवा पासोमा अल्झिएको अवस्थामा मृत फेला परेको हो ।
उक्त चितुवाको लम्बाई चार मिटरभन्दा बढी र तौल ४५ किलो रहेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । बिहान पासो चुँडाएर भाग्ने क्रममा घाइते भएका चितुवाको आक्रमणबाट स्थानीय ४० वर्षीय केशव पालुङ्गे घाइते भएका थिए । स्थानीयले बिहान चितुवा फेला परेको जानकारी दिएपछि डिभिजन वन कार्यालय तम्घासबाट सहायक वन अधिकृत मुना शर्माको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो ।
मृत अवस्थामा भेटिएको चितुवालाई स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा मुचुल्का गरी डिभिजन वन कार्यालयमा ल्याई कार्यालय परिसरमा खाल्डो खनेर गाडिएको छ ।





