विचार/ब्लग

    पर्यटनबाट राष्ट्रको दिगो समृद्धि

    नवलपुर टुडे
    २०७९ फाल्गुन २७ | मध्यान्ह १०:११ बजे

      मानव सभ्यता र मानवजीवन जतिकै पुरानो विषय पर्यटन हो । पर्यटन शब्द ‘अटन’ मूल शब्दमा परि उपसर्ग लागेर निर्मित भएको छ । पर्यटन शब्दको शाब्दिक अर्थ ‘भ्रमण’ हो कुनै एक ठाउँका मानिसले अर्को ठाउँका रमणीय दृश्यहरुको अवलोकन गर्न प्राकृतिक सौन्दर्यको रास्वादन गर्न, धार्मिक महत्वका तीर्थस्थलहरुको भ्रमण गर्न गर्ने नितान्त नीजि भ्रमण पर्यटन हो । पर्यटन शब्दको अर्थ चारैतिर भ्रमण हो ।

      ‘पर्यटन’ भनेको एक ठाउँबाट अर्को ठाउँमा अध्ययन, अवलोकन, अन्वेक्षण, घुमफिर, मनोरञ्जन आदिकामले जाने प्रक्रियालाई पर्यटन भनिन्छ् । तर पछिल्लो समय पर्यटनको परिभाषा फेरिएको छ । विश्वका करिब आधा जस्तो मानिस विभिन्न देशको भ्रमण गर्छन । तर ति सबै पर्यटक भने होइनन् । नेपालमा पर्यटनको इतिहास निकै लामो छ । तर व्यवस्थित रुपमा भने सन् १९४९ बाट भएको देखिन्छ । नेपालको पहिलो पर्यटकका रुपमा संम्राट अशोकलाई बुझिन्छ् । उनी आफनो २० औं राज्यभिषेकमा हालको नेपालको लुम्बिनी आइ त्यहाँ ३ वटा स्तम्भ बनाएको देखिन्छ । यिनी नै नेपालको प्रथम विदेशी पर्यटकको रुपमा चिनिन्छन् ।

      पछि विभिन्न काल खण्डमा धेरै पर्यटक आएको पाइन्छ् । नेपाल विविधतायुक्त समाज हो । यहाँ भौगिलिक विविधता, प्राकृतिक, सांस्कृतिक, जातिगत, भाषागत, धर्मगत, लगायत थुप्रै विविधता छन् ।  नेपालको संविधानको प्रस्तावनामा सो कुरा उल्लेख गरिएको छ । यहीँ विविधतामय समाजको पृथकता हेर्न लाखौं विदेशी पर्यटक आउने गरेका छन् । नेपालमा पर्यटनको तथ्याङ्क राख्ने पर्यटन बोर्डका अनुसार सन् २०१९ मा ११ लाख ९७ हजार १सय ९१ जना, त्यस्तै सन् २०२० मा २ लाख ३२ हजार ८५ जना, त्यस्तै सन् २०२१ मा १ लाख ५० हजार ९ सय ६२ जना र सन् २०२३ को अक्टुबर र नोभेम्बर महिनामा नै कुनै समस्या नआए सन् २०१९ को हाराहारीमा पर्यटक संख्या भित्रयाउने लक्ष्य रहेको पर्यटन बोर्डले बताएको छ ।

      यसरी सन् २०२२ मा सन् २०२१ मा आएका पर्यटकको कूल संख्याको कम्तिमा पनि ४ गुणाले बढेको हो । तर सन् २०१९ मा आएका पर्यटक भन्दा ६५ प्रतिशत र समग्रमा भन्दा ५३ प्रतिशत पर्यटक कम आएको देखिन्छ । सरकारले सन् २०२३ देखि २०३३ सम्म नेपाल भ्रमण दशक घोषणा गरेको छ । सँस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।

      मन्त्रालयले गैर आवसीय नेपाली संघको नेतृत्वमा “एक नेपाली एक विदेशी साथी” नेपाल पठाउ अभियान समेत चलाउने कार्यक्रम सञ्चालन गर्ने उद्घोष गरेको छ । विश्व प्रशिद्ध संस्था सि.एन.एन ट्राभ्रलले सन् २०२३ मा घुम्नै पर्ने गन्तव्यको सूचिमा नेपालको मूस्ताक उपत्यकालाई समावेश गरेबाट नि हाम्रो पर्यटनको महत्व अझ बढेको देखिन्छ । सरकारले पर्यटनका माध्यमबाट देशको विकाश गर्ने नीति लिएको छ ।  

      नेपालमा पर्यटनको सम्भावना कस्तो छ त ?

      नेपालमा लामो समय बसि नेपालको पर्यटन, कला, संस्कृतिको क्षेत्रमा अध्ययन अनुसन्धान गरेका टोनी हेगनले भने जस्तै “नेपाल संसारको सबैभन्दा सुन्दर र विभिन्नताको देश हो भन्नमा म कहिल्यै हिच्किचाउदिन ।” भन्ने भनाइबाट हामी नेपाली र नेपाल पर्यटन क्षेत्रमा संसारकै सुप्रशिद्ध छौँ । तै पनि सुनको कचौरामा भिग मागेर बसेका छौ ।

      नेपाल पर्यटकहरुको लागि आकर्षणको केन्द्र भएकाले नेपाली भुमि पर्यटन उद्योगका दृष्टिले उर्वर छ । यहाँ रहेको सगरमाथा, कनचजंगा लगायत विश्वप्रशिद्ध हिमालहरुको प्रचुरता, यहाँका धार्मिक, सांस्कृतिक विविधता, प्यागौडा शैलीका वास्तुकला, प्राचिन कलाकौशलका वस्तुहरु, काठमाडौं उपत्यका भित्रका विभिन्न मन्दिरमा प्रयोग भएका प्राचिन कला कृतिहरुले विश्का जुनसुकै पर्यटकलाई मोहित बनाउँछन । यस्ता अनगिन्ती प्रकृतिक, धार्मिक तथा साँस्कृतिक रहस्यहरुले हाम्रो मुलुक भरिएको छ । यही रहस्यको पोको फुकाएर हेर्न संसारभरका पर्यटकहरु यस धर्तीमा ओइरिन लालयित छन् ।

      नेपालमा संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा हुनु, शान्तिका अग्रदुत भगवान गौतमबुद्धको जन्म भएको, विश्व प्रशिद्ध साहशिक शेर्पाहरको देश, काठमान्डौं उपत्यकामा मात्रै सात विश्व सम्पदामा सुचिकृत सम्पदा सहित १० वटा विभिन्न गरि विश्व सम्पदामा सचीकृत सम्पदा छन, भने देशका विभिन्न स्थानमा विभिन्न प्राकृतिक, धार्मिक, सास्कृतिक, गरि १५ नयाँ सम्पदा छनोट भइ नेपाल सरकारले मान्यताका लागि पठाइ सकेको तर युनेस्कोले मान्यता दिन बाँकी रहेको हुनाले निकट भविष्यमा नै ति सम्पदाले मान्यता पाउने छन ।

      नेपालको भूगोल सानो छ ।  तर यहिँ सानो भूगोल भित्रै संसारका सबै महादेशमा पाइने सबै किसिमका विशेषता यहाँ पाइने भएकोले अन्य क्षेत्रको भन्दा पर्यटनको उच्च सम्भावना छ । पर्यटन आगमन संख्यामा वृद्धि गर्न सन् १९९८ मा नेपाल भ्रमण वर्ष, सन् २००२ र सन् २००३ मा गन्तव्य नेपाल अभियान, सन् २००७ मा पोखरा भ्रमण वर्ष अभियान, सन् २०११ मा नेपाल भ्रमण वर्ष र सन् २०१२ मा लुम्बिनी भ्रर्मण वर्ष र सन् २०२० लाई नेपाल भ्रर्मण वर्षको रुपमा मनाई २० लाख विदेशी पर्यटक भित्रयाउने लक्ष्य लिएपनि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण त्यो कार्यक्रम सफल हुन सकेन् ।

      आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन विभिन्न प्रदेशले आफ्नो–आफ्नो नीति तथा कार्यक्रम मार्फत विभिन्न कार्यक्रम सञ्चालन गरेका छन् । यी र यस्ता कार्यक्रमबाट पनि विदेशी पर्यटक भित्राउन महत्वपूर्ण योगदान पुगेको छ । यी बाहेक राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका भैरहवामा अवस्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरमा पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुले पर्यटकहरुलाई सहज रुपमा आवतजावत गर्न आवश्यक पर्ने सहायक पूर्वाधारको विकासले पर्यटकलाई सेवा, सुविधा दिन सहयोग पुगेको देखिन्छ ।

      पर्यटन क्षेत्रमा रहेका प्रमुख समस्या के–के छन् त ?

      पर्यटन क्षेत्रमा थुप्रै सम्भावना भएपनि यस क्षेत्रमा धेरै किसिमका समस्याहरु रहेका छन् । किनभने देशमा पर्यटनको लागि राज्यले ठूलो लगानी गर्न सकेको छैन् । जति क्षेत्रमा लगानी गरेको छ । त्यो पनि व्यवहारीक रुपमा प्रभावकारी कार्यान्वयन भएको पाइदैन । पर्यटक लक्षित उदार, खुकुलो र पर्यटनमैत्री नीति नहुँनु, पर्यटन क्षेत्रमा प्रशस्त मात्रमा स्वदेशी तथा विदेशी लगानी भित्रयाउन नसक्नु, पर्यटन क्षेत्रमा अन्य आवश्यक विजुली, सञ्चार, सडक होटेल तथा रिसोर्टहरुको सञ्चालन नहुनु, पर्यटकलाई सहि सुचना दिएर सहयोग गर्ने आवश्यक दक्ष जनशक्तिहरु उत्पादन गर्न नसक्नु, सबै ठाउँमा टेलिफोन सुविधा नहुनु, सम्भावित पर्यटकीय क्षेत्रको पहिचान, विकास र उचित प्रचारपसार हुन नसक्नु, सबैभन्दा बढी पर्यटक भारत तथा चिनबाट सस्तो पर्यटक आउनु, देशमा रहेका सडक पूर्वाधार, हवाइजहाजको अवस्था कमजोर हुनु, पर्यटन क्षेत्रमा युवावर्गको आर्कषण कम देखिनु, जलवायु परिवर्तन तथा विश्व्यापी तापमानको असर नेपालले भोग्नु, भूकम्प, बाढी पहिरोले गर्दा पर्यटक लाई भ्रर्मण गर्न असजिलो हुनु, पछिल्लो समय नेपालका हिमालहरुमा हिउँ कम परेको देखिन्छ, जैविक विविधता, पारिस्थितिक पद्धतिमा असर परेको, जथाभावी फोहोरमैला, वातावरण प्रदुषण हुने, बसाइसराईको कारण हाम्रा गाउँबस्ति खाली हुदैँ जाँदा हाम्रा ग्रामिण बस्तिहरुमा पर्यटकीय गतिविधि शुन्य प्रायः छन् ।

      अर्कोतिर आएका पर्यटकलाई उचित पर्यटकीय सुरक्षा नहुँदा, कतै दुर्घटना हुँदा नी तत्काल उद्धार राहतका कार्यक्रम प्रभावकारी भएको पाइदैंन, बढि खर्च गर्न सक्ने गुणस्तरीय पर्यटक भित्रयाउन, पर्यटकको दैनिक खर्च, बसाइ अवधि बढाउन नसक्नु, पर्यटक क्षेत्रमा लगानी गर्न राज्यका तीनै तह, सार्वजनिक, नीजि साझेदारीको नीति अनुरुप पर्यटन क्षेत्रमा आवश्यक लगानी भित्रयाउन नसक्नु,मौलिक परम्पराको संरक्षण सर्वद्धन, प्रर्वद्धन गर्दै यसको उचित बजारीकरण गर्न नसक्नु हो ।

      पर्यटन क्षेत्रमा रहेका समस्याहरुलाई समाधान गर्न चालिनु पर्ने आवश्यक कदमहरु:

      पर्यटनलाई राज्यको आर्थिक विकासको महत्वपूर्ण अवयबको रुपमा लिदैँ यसको क्षेत्रलाई विकास, विस्तार गर्दै राज्यले दिगो सोचमा आधारित स्पष्ट पर्यटन लक्षित नीति बनाउने, भएका मौजुदा नीतिलाई समसामयिक बनाउने पर्यटकलाई आवश्यक पर्यटकीय सुरक्षा प्रदान गर्ने, पर्यटन क्षेत्रमा रहेका सबै समस्याको निराकरण गर्ने, पर्यटन क्षेत्रमा रहेको व्यापक राजनीतिकीकरणको अन्त्य गर्ने, पर्यटन क्षेत्रमा राज्यको लगानी भित्रयाउने, वैदेशिक लगानी भित्रयाउने, पर्यटकीय गतिविधि लाई पूर्णरुपमा सञ्चालन गर्न पर्यटक क्षेत्रसगँ सम्बधित सबै भौतिक पूर्वाधारको विकास गर्ने, गैरआवासीय नेपाली महानुभावलाई आफ्नो देशको प्रचारप्रसार गर्न जिम्मेवारी दिने, बढि भन्दा बढि पर्यटक भित्रयाई संघ, प्रदेश तथा स्थानीय तहहरु बीच पर्यटन बाट प्राप्त आर्थिक लाभको न्यायोचित बाँडफाँड गर्ने, पर्यटकीय गतिविधि लाइ बढाउन तीनै तह बीच समन्वय, सहकार्य, साझेधारी कायम गर्ने आदि । पुछारमा, पर्यटन नेपाल जस्तो प्रकृतिक श्रोत साधन तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण देशको लागि वैदेशिक मुद्रा आर्जनको प्रमुख अवयब हो ।यसको विकास, विस्तार गर्दै थप नयाँ क्षेत्रको पहिचान गरी विकास, विस्तार गर्दै आर्थिक लाभ लिन सके सम्रगः मुलुकको हित एवं समृद्धि हुने कुरामा आशावादी बन्न सकिन्छ् ।

      लेखकः– मोहन नेपाली
      त्रिभुवन विश्व विद्यालयमा अध्ययनरत छन।

       

        कमेन्टहरु