महिला, बालबालिका तथा जेष्ठ नागरिकविरुद्ध हुने अपराध नियन्त्रण सम्बन्धमा अन्तर्क्रिया कार्यक्रम


नवलपरासी, फागुन २७ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको सभाहलमा महिला, बालबालिका तथा जेष्ठ नागरिकविरुद्ध हुने अपराध नियन्त्रण सम्बन्धमा अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको आयोजना तथा ईलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासीको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त कार्यक्रममा पालिकाको विभिन्न तहमा रहेका महिला, बाल-बालिका, जेष्ठ नागरिक र पत्रकारहरुसमेतको सहभागिता रहेको थियो । कार्यक्रमको उद्धेश्यको बारेमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले प्रकाश पारेका थिए । त्यसपश्चात सहभागिहरुले महिला तथा जेष्ठ नागरिकविरुद्ध हुने अपराध नियन्त्रण सम्बन्धमा आ-आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत समेतले अपराधको न्यूनीकरणमा नगरपालिकाले पुर्याएको योगदानको बारेमा प्रकाश पारेका थिए । कार्यक्रमको अन्त्यमा सहभागिहरुबाट उठेका जिज्ञासाहरुको बारेमा कार्यक्रमका अध्यक्ष तथा प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले सम्बोधन गरेका थिए । कार्यक्रमको संचालन ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक बिरेन्द्र केसीले गरेका थिए ।
कार्यक्रममा बर्दघाट नगरपालिकाको बिभिन्न संघ संस्थामा क्रियाशील महिला, बालबालिका तथा संचारकर्मीहरुसमेत गरि ७० जनाको उपस्थिति रहेको प्रहरी नायब उपरीक्षक पाण्डेयले जानकारी दिए ।






