देश

    १० दलमा उपराष्ट्रपतिको उम्मेदवारबारे सहमति जुटेन

    नवलपुर टुडे
    २०७९ फाल्गुन २७ | बिहान ११:११ बजे

      काठमाडौ । सत्ता साझेदार दलहरूले उपराष्ट्रपतिमा तीन जना उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रभु साह नेतृत्वको आम जनता पार्टीसहित १० दलको बैठकले साझा उम्मेदवार चयन गर्न नसकेपछि तीन जना उम्मेदवार हुने भएका छन् ।

      शनिबार बिहान बालुवाटारमा बसेको बैठक उपराष्ट्रपतिको उम्मेदवारबारे केन्द्रित भए पनि कुनै पनि सहमति जुट्न नसकेको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिएका हुन् । सहमति नजुटेपछि जनमत पार्टी र जसपाले छुट्टाछुट्टै उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने र यसबारे भोलिसम्ममा सहमति जुटाउने तयारी भएको जनमत पार्टीका अध्यक्ष सिके राउतले बताए । 

      ‘८ दलबाट आज ३ जनाले उम्मेदवारले दर्ता गर्ने छन्। भोलि फेरि शीर्ष नेताबीच हुने छलफलले अन्तिम टुंगो लगाउने कुरा भएको छ’, उनले भने । अध्यक्ष राउतका अनुसार जनमत पार्टीकी ममता झा र जसपाबाट दुई जना उपराष्ट्रपतिको उम्मेदवार हुने छन् ।

      राष्ट्रपति पुरूष भएपछि उपराष्ट्रपतिमा जुनसुकै समुदायको भए पनि महिला नै हुनुपर्ने एउटा जिम्मेवारी हुने भएकाले जनमत पार्टीका तर्फबाट ममता झालाई अगाडि सारिएको राउतले बताए ।

      ‘निर्वाचन आयोगले उपराष्ट्रपतिको उम्मेदवार महिला ने हुनुपर्ने निर्णय गरेपछि हामीबीच सकेसम्म महिला नै उठाउनेबारे छलफल भएको छ । यसमा रिस्क नलिने दलहरुबीच कुरा भएको हो’, उनले भने, ‘किनभने आयोगले संविधानको धारा ३८ (४) लाई कोट नै गरेको छ । जसमा महिलालाई पनि समावेशी समानुपातिक गर्नुपर्ने भनेको छ । त्यही भएर राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला नै बनाउने जिम्मेवारी हुन्छ ।’

      जसपाले भने पुरुष र महिला गरी दुई जनाले आज उम्मेदवारी दर्ता गर्ने तयारी गरेको राउतले जानकारी दिए ।

        कमेन्टहरु