अर्थ

    वाणिज्य बैंकहरूले चैतबाट ऋणको ब्याजदर घटाउदै

    नवलपुर टुडे
    २०७९ फाल्गुन २६ | बिहान ०८:११ बजे

      काठमाडौ । वाणिज्य बैंकहरूले चैतबाट कर्जाको ब्याजदर घटाउने भएका छन् । बिहीबार बसेको नेपाल बैकर्स संघको बैठकले चैतबाट कर्जाको अधिकतम प्रिमियम ५ प्रतिशतमा झार्ने निर्णय गरेको हो ।

      अहिले कर्जामा अधिकतम ६ प्रतिशतसम्म ब्याज लिँदै आएका छन् । त्यस्तै, बचतको ब्याजदर पनि घटाउने निर्णय गरेको छ । पुससम्म व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर माघदेखि ११ प्रतिशतमा झारिएको थियो । तर, यसपालि संघले मुद्दती निक्षेपको ब्याजदर भने यथावत् राखेको छ । हाल बचतको ब्याजदर भने ६.४२ देखि ८.४ प्रतिशतसम्म छ । यसलाई ६ देखि ८ प्रतिशत कायम गर्ने निर्णय भएको संघका कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिए । 

      बचतको ब्याज घटेपछि लागत पनि घट्ने भएकाले आधार दर पनि कम हुन्छ । बचत ब्याजदर र कर्जाको प्रिमियम घटेपछि कर्जाको ब्याजदर सस्तिने शर्माले जानकारी दिए । उनले भने, ‘पछिल्लो समय लिइएका नीतिले बजारमा मागमा संकुचन ल्याइरहेको अवस्थामा यो निर्णयले राहत दिने अपेक्षा छ ।’ तर, अन्तर्राष्ट्रिय बजारमा ब्याजदर बढ्दो क्रममा रहेकोमा नेपालमा ब्याजदर घटाउने दरिलो आधार नभएको र निक्षेप आउने बलियो स्रोत पनि नभएको उनको भनाइ छ ।

      ब्याजदर घटाएमा निक्षेपकर्ताले निक्षेप झिक्ने जोखिम पनि बढेको उनले बताए । तर, पछिल्लो परिस्थितिलाई दृष्टिगत गर्दै ब्याजदर घटाउने निर्णय गरेको उनको भनाइ छ । उनले भने, ‘विशेष गरी पछिल्लो समय ऋणीहरूलाई किस्ता तिर्न अप्ठ्यारो भइरहेको छ । सोहीअुनसार ऋणको ब्याजदर घट्ने गरी मुद्दती निक्षेपको ब्याजदर घटाएर बचत र कल डिपोजिटको ब्याजदर मात्रै घटाउने निर्णय गरेका हौँ ।’ नयाँ पत्रीकामा समाचार छ ।

        कमेन्टहरु