पर्यटन

    आजदेखि भैरहवामा पुनः जजिराको नियमित अन्तर्राष्ट्रिय उडान

    नवलपुर टुडे
    २०७९ फाल्गुन २५ | बिहान ०७:११ बजे

      भैरहवा । खराब मौसमका कारण स्थगित गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए) को नियमित अन्तर्राष्ट्रिय उडान आजदेखि पुनः सुरु हुने भएको छ ।

      कुवेतको जजिरा एयरवेजले सातामा तीन दिन कुवेत–भैरहवा उडान करिब साढे दुई महिनापछि पुनः गर्न लागेको हो । विमानस्थल उद्घाटनको दिन २ जेठ २०७९ देखि नै नियमित उडान गर्दै आइरहेको जजिराले भैरहवामा बाक्लो हुस्सु लाग्न थालेपछि ६ पुसदेखि सेवा स्थगित गरेको थियो । अब आकाश खुल्न थालेसँगै भैरहवा उडान पुनः सुरु हुने जजिराको नेपालका लागि जनरल सेल्स एजेन्ट (जिएसए) सोसाइटी इन्टरनेसनल ट्राभलले जनाएको छ ।

      जजिराको जहाज बिहीबार बिहान ७ः२० बजे भैरहवा अवतरण गर्नेछ भने ८ः०५ बजे भैरहवाबाट कुवेतका लागि उड्ने गौतमबुद्ध विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । जजिराले भैरहवामा मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने उनको भनाइ छ । 

      भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरे पनि यात्रु भने अपेक्षित छैनन् । बिहीबार जजिराको जहाज कुवेतबाट ४० जना यात्रु बोकेर भैरहवा आउनेछ भने एक सय ३० यात्रु बोकेर कुवेत फर्किनेछ । भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्नलाई काठमाडौंबाट यात्रु लैजानुपर्ने बाध्यता रहेको सोसाइटी ट्राभलले जनाएको छ । 

      ‘भर्खर उडान सुरु गरेर पनि होला, पहिलो दिन अपेक्षित यात्रु छैनन्,’ जजिराका प्रतिनिधिले भने, ‘बिस्तारै यात्रु बढ्दै जाने विश्वासमा छौँ ।’ ल्यान्डिङ, पार्किङ, नेभिगेसन, सुरक्षा शुल्क र ग्राउन्ड ह्यान्डलिङ सेवामा छुट दिँदा पनि वायुसेवा भैरहवाबाट उडान गर्न तयार छैनन् । काठमाडौंको तुलनामा भैरहवाबाट कुवेत उड्दा कम्तीमा प्रतियात्रु आठ हजार रुपैयाँ सस्तो पर्ने सोसाइटी ट्राभलले जनाएको छ । ल्यान्डिङ र पार्किङ शुल्क नलाग्ने हुँदा फाट्टफुट्ट चार्टर्ड उडान भने भइरहेको प्रवक्ता झाले बताए ।

      ३१ अर्बभन्दा बढी लगानी गरेर निर्माण गरिएको अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म जजिराले मात्रै नियमित उडान गरिरहेको छ । यसबीचमा चार्टर्ड उडान गरेको हिमालय एयरलाइन्सले हिउँदपछि पुनः उडान सुरु गर्न सुरसार नै नगरेको विमानस्थलका प्रवक्ता झाले बताए । तत्काललाई कुनै पनि वायुसेवाले भैरहवा अन्तर्राष्ट्रिय उडान गर्ने जानकारीमा नआएको उनको भनाइ छ । 

        कमेन्टहरु