राष्ट्रपति निर्वाचनमा कडा सुरक्षा, फरार सांसद निगरानीमा


काठमाडौ । बिहीबार हुने राष्ट्रपति निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंबाट ९ सय सुरक्षाकर्मी परिचालन गरिएको छ।
यसका अलावा सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ । मतदानस्थल नयाँ बानेश्वरमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले मतदानदेखि मतगणनासम्म सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएको बताए । ‘मतदानअगाडि सबै मतदाताको सहजीकरण गर्ने, उहाँहरूको बसोबास क्षेत्रको सुरक्षा मिलाउने, मतपेटिकाको सुरक्षा, मतदान सामग्रीको सुरक्षा, लाइन व्यवस्थापन, कुनै पनि प्रज्वलनशील पदार्थ तथा मोबाइल र क्यामेरा लान नदिने गरी प्रबन्ध गरेका छौँ,’ उनले भने, ‘गोप्य मतदान हुने भएकाले फोटो खिच्न पाइँदैन।
त्यसकारण त्यो लान पाइनेछैन। मतदान गरिसकेपछि पनि हलमा बसिरहन खोजे बाहिर निकालिनेछ।’ एसएसपी कार्कीले प्रहरीको फरार सूचीमा रहेका मतदातालाई निगरानी गरिने बताए। कर्तव्य ज्यान मुद्दामा एमाले सांसद लक्ष्मी महतो कोइरी फरार रहेको सन्दर्भमा प्रहरीले निगरानी गर्ने भएको हो। ‘त्यहाँ फरार सूचीमा रहेका मतदाताहरूलाई निगरानी गरिनेछ। त्यस्ता व्यक्तिलाई जो जहाँ भेटिन्छ, त्यहीँबाट पक्राउ गरेर कानुनी दायरामा ल्याइनेछ,’ एसएसपी कार्कीले भने।
मतदान गर्दाको लाइन तथा अन्य व्यवस्थापनको कुरामा मतदान अधिकृतसँग समन्वय गरेर काम गरिने उनको भनाइ छ। मतदानपछि मतपेटिका सुरक्षा, मतपेटिका ओसार पसारको वेलाको सुरक्षा, मतगणना हुने स्थलको सुरक्षा मिलाइएको उनले बताए। ‘मतदान तथा मतगणनामा एकैपटक एउटै पक्षको दुइटा प्रतिनिधि बस्न दिइनेछैन। मतगणनामा अवाञ्छित गतिविधि हुन नदिन विशेष सतर्कता अपनाइएको छ। आवश्यक जनशक्ति खटाइएको छ।
काठमाडौं जिल्लाबाट सिनियर पुलिस अधिकृतको काठमाडौंमा लाइन व्यवस्थापनदेखि लिएर चारैतिरको प्रवेशद्वारहरूको सुरक्षासमेत मिलाइएको छ,’ उनले भने।कार्कीका अनुसार मतदानमा बाधा अवरोध हुन नदिन बानेश्वरको बिआइसिसी प्रवेश गर्ने क्षेत्रमा आवश्यक संख्यामा सिनियर अधिकारीको नेतृत्वमा सुरक्षाकर्मी खटाइएको छ।
मतदातालाई भित्र प्रवेश गराउने, लाइन व्यवस्थापन र बाहिर ल्याउने कुरामा प्रहरीले सहजीकरण गर्ने उनले बताए। ‘निर्वाचनबाट जितेर प्रमाणपत्र प्राप्त गर्नुहुने उम्मेदवारलाई तत्क्षणदेखि नै पदअनुसारको सुरक्षा व्यवस्था मिलाइनेछ,’ उनले भने।





