देश

    राष्ट्रपति निर्वाचनः आज राति १२ बजेदेखि मौन अवधि सुरु

    नवलपुर टुडे
    २०७९ फाल्गुन २२ | बिहान १०:११ बजे

      काठमाडौँ, फागुन २२ । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते बिहीबार हुँदैछ । त्यसको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन आयोगले मौन अवधिमा कुनै पनि प्रचार प्रसार गर्न नपाइने जनाएको छ ।

      निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आयोगले कुनै पनि माध्यमबाट मत माग्न र प्रचार प्रसार नगर्न भनेको छ ।

      विज्ञप्तिमा भनिएको छ -“निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्रिया सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत–हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचारणहरु पालना गर्न–गराउन सम्बन्धित सबैलाई आयोग हार्दिक आग्रह गर्दछ। मुलुकको सर्वोच्च र गरिमामय पद राष्ट्रपतिको निर्वाचनमा निर्वाचन कानून र आचारसंहिताको पालना गराई निर्वाचनको स्वच्छता र मर्यादा कायम गर्न आयोग सम्बन्धित सबैलाई हार्दिक आग्रह गर्दछ।”

        कमेन्टहरु