डा.सन्दुक रुईतले आफ्नै जन्मगाउँमा सुरु गरे आँखा शिविर


काठमाडौ, फागुन २० । विश्व विख्यात वरिष्ठ नेत्र चिकित्सक डाक्टर सन्दुक रुईतले शनिबारबाट आफ्नै जन्म गाउँ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शल्यक्रिया सहितको आँखा शिविर सुरु गरेका छन् । डाक्टर रुईतको जन्म गाउँ फक्तालुङ गाउँपालिका – ७ ओलाङचुङगोला हो ।
उनको नेतृत्वमा चिकित्सक तथा आँखा प्राविधिकहरूको टोलीले शनिबार र आइतबार फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यक्रिया सहितको आँखा शिविर सञ्चालन गर्ने छ ।गत फागुन ८ गतेदेखि फक्ताङलुङ गाउँपालिकाका विभिन्न दुर्गम बस्तीमा पुगेर आँखा प्राविधिकहरूले आँखाको जाँच गरी मोतिया बिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीको छनौट गरेको थियो ।
तिलगंगा आँखा प्रतिष्ठान र फक्ताङलुङ गाउँपालिकाको संयुक्त आयोजनामा आँखा शिविर संचालन गर्न लागिएको हो । डाक्टर रुईत तिलगंगा आँखा प्रतिष्ठानका निर्देशक समेत हुन् । डाक्टर रुईतले नेपालसहित विश्वका विभिन्न देशमा पुगेर आफ्नै हातले १ लाख ८० हजार भन्दा बढी आँखा रोगीको शल्यक्रिया तथा उपचार गरेको गरिसकेका छन् । मानवीय सेवामा उच्चतम सहयोग पुर्याउने एक जनालाई बहराईन सरकारले हरेक दुई–दुईमा वर्ष प्रदान गर्ने १० लाख अमेरिकी डलर राशिको प्रतिष्ठित ईसा अवार्डबाट यसबर्ष डाक्टर रुईत विभूषित भएका थिए ।
उनले यस अघि सन् २००६ मा एसियाको नोबेल पुरस्कार भनेर चिनिने रमन सेसे पुरस्कार समेत पाइसकेका छन् । भारतले प्रदान गर्ने प्रतिष्ठित पद्मश्री पुरस्कार र नेपाल सरकारले दिने प्रधानमन्त्री प्रतिभा पुरस्कारका समेत हकदार भइसकेका रुईत विश्वकै दुर्लभ आँखा डाक्टरको रूपमा समेत चिनिन्छन् । अत्यन्त सरल उपचार सेवा र कम लागतको मोतिया बिन्दुको शल्यक्रिया चिकित्सा प्रणालीको विकास गर्ने उनी आँखा क्षेत्रमा विख्यात मानिन्छन् ।
आफ्नै जन्म गाउँपालिकामा आएर उनले आँखाको शल्यक्रिया तथा उपचार गर्ने भएपछि आँखा रोगीहरूको उल्लेख्य सहभागिता रहेको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष मुक्ति (राजन) लावुङ लिम्बूले जानकारी दिए ।





