समाचार

    क्षेत्रीहरू पनि आदिवासी हुन् : उपराष्ट्रपति पुन

    नवलपुर टुडे
    २०७९ फाल्गुन २० | मध्यान्ह ०५:११ बजे

      काठमाडौँ, फागुन २० । उपराष्ट्रपति नन्दबहादुर पुनले क्षेत्रीहरू आदिवासी भएको निष्कर्षमा आफू पुगेको बताएका छन् । उपराष्ट्रपति पुनले क्षेत्रीहरू आदिवासी हुन वा होइनन् भन्ने कुरामा गहिरिएर अध्ययन गर्न नेपाल मगर संघलाई आग्रह समेत गरेका छन् । 

      शनिबार काठमाडौँको कलंकीस्थित नेपाल मगर संघको भवन पुनर्निर्माण तथा शालिक अनावरण कार्यक्रममा बोल्दै उनले आदिवासी जनजातिहरूले आफ्नो पहिचानको मुद्दालाई छाड्न नहुने बताए । संविधानमा कतिपय विषय समावेश गरिए पनि कतिपय विषय आउन बाँकि रहेकाले त्यसलाई स्थापित गराउनका लागि आदिवासी जनजातिहरुले एकतावद्ध भएर सरकारलाई खवरदारी गरिरहनु पर्ने पनि उपराष्ट्रपति पुनको भनाई थियो ।

      उनले भने, ‘क्षेत्रीहरू आदिवासी हुन कि होइनन् भन्ने कुरा अलि गहिरो विषय छ । र, यसको इतिहास, तथ्यहरू हामीले हेर्न जरुरी छ । मलाई लाग्छ–क्षेत्रीहरू पनि आदिवासी हुन् भन्ने कुरा चाहिँ सही हो । यसका लागि आन्दोलन पनि उठेको थियो । र, त्यो आन्दोलन एउटा निष्कर्षमा जान सकेन । र, त्यसले दायाँबायाँ मोड लिन पुग्यो । त्यसमा हाम्रो अध्ययन पुग्नु पर्छ । गहिरिएर जानु पर्छ । आदिवासीहरु एकताबद्ध हुनु पर्छ जस्तो लाग्छ । त्यसो गर्दा आदिवासीहरूको बीचमा जो विभाजन आउँछ । अथवा बुझाइमा जो फरक पर्न जान्छ । त्यसले हाम्रो एकतालाई टुटाउने गर्छ । त्यसो भएको हुनाले अलि गहिरिएर हामीले अध्ययनहरू गर्नुपर्ने, घोत्लिएर हेर्नुपर्ने, अलि छलफल गर्नुपर्ने कुनै आग्रह, पूर्वाग्रह विना हामी अलि माथि उठेर हामीले सबै आदिवासी समुदायलाई एकताबद्ध गर्न सक्नु पर्दछ । मेरो अध्ययनले क्षेत्रीहरू आदिवासी नै हुन भनेर महसुस गर्छ । पहिचानको मुद्दालाई हामीले कहिल्यै पनि छोड्नु हुँदैन । हाम्रा कतिपय मुद्दाहरू संविधान सम्बोधन हुने क्रममा छन् । त्यसका लागि हामीले संविधान संशोधनका लागि कोसिसहरू गर्ने नै छौँ ।’

      उपराष्ट्रपति पुनले आदिवासी जनजातिहरूको एकता टुट्यो भने उनीहरूले उठाउँदै आएका पहिचानको मुद्दा पनि ओझेलमा पर्ने तर्क गरे । उनले नेपाल मगर संघले आदिवासी जनजाति योद्धाहरूको योगदानको स्मरण गर्दै अघि बढ्नुपर्ने बताए ।

        कमेन्टहरु