बागमती प्रदेश

    चितवनको इच्छाकामना गाउँपालिकाले सामाजिक संस्कारमा जाँडरक्सीको प्रयोग रोक्दै

    नवलपुर टुडे
    २०७९ फाल्गुन १९ | बिहान ०७:११ बजे
    फाइल तस्बिर

      बुटवल, फागुन १९ । चितवनको इच्छाकामना गाउँपालिकाले सामाजिक संस्कारमा जाँडरक्सीको प्रयोग रोक्ने भएको छ । पछिल्लो समय धूमपान र मद्यपानजस्ता कुलतमा युवापुस्ताको सहभागिता बढ्दै गएको देखिन्छ । अभिभावकबाट सचेत नगराउँदा सार्वजनिक स्थलमै खुलेआम धूमपान गर्दै हिँडिरहेको हामी प्रशस्तै देख्न सक्छौँ । होटल तथा चिया पसलहरुमा समेत धूमपान गर्नेहरुमा युवापुस्ता नै बढी देखिन्छन् । अझ क्याम्पस पढ्दै गरेका किशोरकिशोरी शैक्षिक पोसाकमै निर्धक्क धूमपान गरिरहेका हुन्छन् ।

      समाजमा विकृति फैलिँदै जाँदा चितवनको इच्छाकामना गाउँपालिकाले भने धूमपान र मद्यपान गर्ने व्यक्तिलाई सार्वजनिक बहिष्कार गर्नुपर्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बैठकबाटै निर्णय गरेर सामाजिक संस्कारहरुमा बढ्दै गएको धूमपान र मदिरापानलाई रोक्न पालिकाबाटै प्रयास गरिएको गाउँपालिकाले जनाएको छ ।

      धूमपान र मदिरापानकै कारण सामाजिक संस्कार खर्चालु र महँगो बन्दै गएपछि गाउँपालिकाले निर्णय नै गरेर नियन्त्रण गर्ने प्रयास गरेको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले जानकारी दिए ।

      ‘विवाह, छेवर, गुन्यूचोलीजस्ता सामाजिक संस्कारका नाममा अत्यधिक मात्रामा खर्च गरेर बजारबाट महँगा मदिरा लैजाने क्रम बढेको हुँदा त्यसलाई न्यूनीकरण गर्न पनि पालिकाले कदम चालेको हो’, उनले भने, ‘यसलाई बिस्तारै कार्यान्वयनमा लैजानुपर्छ ।’ पाहुनालाई खुसी पार्ने बहानामा जाँडरक्सीजस्ता मदिराको प्रयोग अत्यधिक बढ्दै जाँदा सामान्य परिवार सामाजिक क्रियाकलापबाट टाढा रहनुपर्ने बाध्यात्मक परिस्थिति नै सिर्जना हुने गरेको उनले बताए । आर्थिक एवम् स्वास्थ्यका दृष्टिकोणबाट नोक्सानमात्रै हुने वस्तुको प्रयोगमा अङ्कुश लगाउनैपर्ने पालिकाले जनाएको छ ।

      ‘त्यसैले धूमपान र मद्यपानबिनै पनि सामाजिक संस्कार चलाउन सकिन्छ भन्ने सन्देश दिन जरूरी छ’, गाउँपालिकाका अध्यक्ष गुरूङले भने, ‘सार्वजनिकरुपमै धूमपान तथा मद्यपानलाई कानुनले पनि वर्जित गरेको कुरा हो । त्यसैले, यस्ता दण्डनीय काम हुनबाट रोक्न गाउँपालिकाले प्रयास थालेको हो ।’ सबैको साथ र सहयोगबाट गाउँपालिकाको कदममा मद्दत पुग्ने उनको भनाइ छ । सामाजिक संस्कारका क्रममा धूमपान तथा मद्यपान गर्नेहरुलाई सामाजिकरुपमै बहिष्कार गर्दै जाने हो भने बिस्तारै घट्दै जाने उनको भनाइ छ ।

      ‘विभिन्न उत्सवको बहानामा अत्यधिक मद्यपान गर्ने विषयलाई सामाजिक अपराधको रुपमा लिनुपर्छ’, उनले भने, ‘त्यसैले त्यस्ता व्यक्तिलाई कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुन नदिने वातावरण समाजबाटै सिर्जना गर्नु आवश्यक छ ।’ सार्वजनिकरुपमै धूमपान तथा मद्यपान गर्ने र समाजमा भाँडभैलो फैलाउन खोज्ने जोकसैलाई दण्ड जरिवाना र कानुनबमोजिम सजाय गराउने गाउँपालिकाले जनाएको छ ।

      पालिकाले सार्वजनिकरुपमा सूचना नै जारी गरेर कुनै पनि सामाजिक कार्यमा धूमपान र मद्यपानजस्ता स्वास्थ्यका लागि घातक वस्तुको सेवन नगर्न/नगराउन पनि पालिकावासीलाई आग्रह गरेको छ । इच्छाकामना गाउँपालिका आदिवासी जनजाति समुदायको बाहुल्यता भएको पालिका भएकोले पनि मदिराको प्रयोग बढ्दै जाँदा त्यसले समस्या निम्त्याएको पालिकाले जनाएको छ ।

        कमेन्टहरु