जलेश्वर मालपोतका सुब्बा र लेखनदास घुस सहित पक्राउ


बुटवल, फागुन १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलेश्वरस्थित मालपोत कार्यालयबाट सेवाग्राहीबाट लिएको घुससहित नायब सुब्बा र एक लेखनदासलाई पक्राउ गरेको छ। आयोगको बर्दिबास कार्यालयको टोलीले बिहीबार दिउँसो मालपोत कार्यालय महोत्तरीको मुद्दा शाखामा कार्यरत नायब सुब्बा ५५ वर्षीय रामकृष्ण पण्डित र लेखापढी व्यवसायी शुभासचन्द्र लाल कर्णलाई पक्राउ गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट प्रहरी नायब उपरीक्षक सुभाष राईको नेतृत्वमा खटिएको अख्तियारको टोलीले सेवाग्राहीसँग नौ हजार रुपैयाँ घुस लिएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो । नासु पण्डितले कार्यालय बाहिर निस्केर सेवाग्राहीसँग मुद्दा फैसलाका लागि नौ हजार लिई लेखापढी व्यवसायी लाललाई राख्न दिँदै गरेको अवस्थामा दुवैपक्राउ परेका हुन्।
पक्राउ परेका नासु पण्डित र लेखनदास लाललाई बरामद रकमसहित आवश्यक मुचुल्का, खानतलासी, पक्राउ पुर्जी र पीडितको फाइल मागेर आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास लगिएको छ।





