चरिकोटस्थित टुँडिखेलमा शुक्रबारदेखि फागुन २७ गतेसम्म दोलखा महोत्सव सुरु


दोलखा, फाल्गुन १८ । शुक्रवारदेखि दोलखा महोत्सव सुरु हुने भएको छ । सदरमुकाम चरिकोटस्थित टुँडिखेलमा शुक्रबारदेखि फागुन २७ गतेसम्म महोत्सव सुरु हुन लागेको हो।
‘कृषि, व्यापार, पर्यटन र पूर्वाधार : समृद्ध दोलखा निर्माणको आधार’ भन्ने मुल नाराका साथ सदरमुकाम टुँडिखेलमा हुने महोत्सवको तयारी पुरा भएको चेम्बर अफ कमर्स दोलखा उपाध्यक्ष रुद्र बुढाथोकीले जानकारी दिए। दोलखामा केही वर्षदेखि महोत्सव हुँदै आएको छ । २०७६ सालयता कोरोना महामारीका कारण व्यापार व्यवसाय अझै लयमा नआएको र खस्कँदो स्थितिलाई लयमा फर्काइ आर्थिक चहलपहल बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको उपाध्यक्ष बुढाथोकीले बताए ।
‘यो वर्ष दोलखामा महोत्सव भव्य रुपमा प्रभावकारी बनाउने योजना छ, दोलखा महोत्सव नजिकै गर्दा दोलखाको पर्यटकीय स्थल कालिन्चोक लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरूमा हिमपात भएसँगै दोलखा घुम्न आउने पर्यटकको सङ्ख्या बृद्धि भई महोत्सवलाई थप टेवा पुग्नेछ’ उपाध्यक्ष बुढाथोकीले भने ।महोत्सवको उद्घाटन उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले गर्ने आयोजक पक्षले बताएको छ।
उदघाटन समारोहमा नगरपालिका तथा पालिकाका जनप्रतिनिधि लगायतको उपस्थिति रहने बताइएको छ ।महोत्सवमा जिल्लाका विभिन्न जातजातिहरूको प्रतियोगितात्मक झाँकीहरू, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरूको प्रस्तुति, आर्थिक, कृषि, पशु, पर्यटन र जिल्लामा जलविद्युतको सम्भावनाको बारेमा बहस छलफल गरिने बताइएको छ ।
महोत्सवमा अपर तामाकोशीको स्थानीयवासीको शेयर अभौतिकिकरण शिविर गर्ने, जिल्लास्तरीय खुल्ला एकल तथा सामूहिक नृत्य प्रतियोगिता हुने, पञ्चेबाजा तथा खैंजडी प्रतियोगिता पनि हुने आयोजक पक्षले जानकारी दिए ।





