प्रदेश १ को नाम कोशी प्रदेश भएपछि आज प्रदेशभर सार्वजनिक बिदा


काठमाडौं, फागुन १८ । प्रदेश नम्बर १ को नाम कोशी नामाकरण भएसँगै प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेश सचिव उमेश बस्नेतले एक विज्ञप्ति जारी गर्दै प्रदेश सभाको बैठकबाट प्रदेश नम्बर १ को नाम कोशी प्रदेश राख्ने प्रस्ताव पारित भएको उपलक्ष्यमा बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश नं. १ को नाम कोशी प्रदेश राख्ने प्रस्ताव पारित भएकाले प्रदेशको नामाकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दाहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुलाई मिति २०७९ साल फागुन १८ गते बिहीबार सार्वजनिक बिदा दिने प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएकाले सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’






