समाचार

    नवलपरासी प्रहरीद्वारा ३ लाख २५ हजार २ सय बराबरको अबैध सामान बरामद

    नवलपुर टुडे
    २०७९ फाल्गुन १७ | मध्यान्ह ०८:११ बजे

      नवलपरासी, फागुन १७ । प्रहरीले नवलपरासीको विभिन्न स्थानबाट ३,२५,२०० बराबरको अवैध सामान तथा लत्ताकपडाहरु बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सामान र लत्ताकपडाहरु बरामद गरेको हो ।

      जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी सहायक निरीक्षक चाम बहादुर वलीको कमाण्डमा खटिएको टोलीले मंगलबार जिल्लाको सरावल गाउँपालिका – २ मनरीबाट वेवारिसे अवस्थामा १२१ मिटर थान कपडा, १०७५ मिटर सुतीको थानको कपडा, ४२ पिस कुर्ता सुरुवाल, ४७ पिस साडी, १३ पिस सुतीको कुर्ता सुरुवाल, १५० प्याकेट ललीपप मिठाई, २४ पिस टेङ्गो मिठाई र भाईवेष्ट मिठाई २ कार्टुन गरी जम्मा अन्दाजी मूल्य रु. २,१२,५०० बराबरको सामान बरामद गरेको थियो ।

      यस्तै सोही दिन ईलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी सहायक निरीक्षक बिन बहादुर बगालेको कमाण्डमा खटिएको टोलीले बर्दघाट नगरपालिका – ४ टिसिएन चोकस्थित पुर्व-पश्चिम राजमार्गबाट बेवारिसे अवस्थामा सुट ३६ पिस, टप्स १८ पिस, कुर्था सुरुवाल २२ पिस गरी जम्मा अन्दाजी मूल्य रु. १,१०,२०० बराबरको सामान बरामद गरेको थियो ।

      यस्तै ईलाका प्रहरी कार्यालय अमानिगंजबाट प्र.ब.ना.नि. राजेश भट्टराईको कमाण्डमा खटिएको टोलीले पाल्हीनन्दन गाउँपालिका – २ मुडेराबाट अन्दाजी मूल्य २५००० बराबरको १५० केजी गँहु र ३५० केजी चामल बरामद गरिएको थियो ।

      बरामद गरिएका उक्त मालसामानहरु आवश्यक कारबाहीको लागी महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।

        कमेन्टहरु