अछाममा आगलागी घाइतेलाई प्रधानमन्त्रीको पहलमा हेलिकप्टरमा काठमाडौँ ल्याइयो


काठमाडौँ । अछाममा आगलागीमा परेर सिकिस्त भएका दुई जनालाई थप उपचारका लागि काठमाडौ ल्याईएको छ। पञ्चदेवल विनायक नगरपालिका – ८ कोसेडीका दुईजना युवाहरूलाई प्रधानमन्त्री कार्यालयको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको हो ।
फागुन ११ गते घरमा नै आगलागीमा परेपछि पञ्चदेवल विनायक नगरपालिका ८ कोसेडी निवासी वर्ष २१ का हिमराज रोका मगर र वर्ष १९ का पिरम रोकामगर गम्भीर घाइते भएका थिए।
जिल्लामा उपचार सम्भव नभएपछि उनीहरूलाई सुर्खेत अस्पतालमा भर्ना गरिएको थियो। घाइतेमध्ये हिमराज रोका मगरको शरीरको ८० प्रतिशत भाग जलेको छ भने पिरम रोकामगरको ३६ प्रतिशत जलेको छ। सुर्खेत अस्पतालले समेत उपचार गर्न नसक्ने र काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा लैजान सिफारिस गरेपछि पीडित परिवारले उद्धारका लागि पहल गरिदिन प्रधानमन्त्री प्रचण्डसमक्ष अपिल गरेका थिए।
प्रधानमन्त्री कार्यालयले घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै पीडितहरूलाई तत्काल अस्पताल पुर्याउन निर्देशन दिएपछि गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत घाइतेहरूलाई काठमाडौँ ल्याइएको हो।





