धर्म–संस्कृति/रीतिथिति, मधेश प्रदेश

    आज शेर्पा समुदायको ग्याल्पो ल्होसार विभिन्न कार्यक्रमका साथ मनाउँदै

    नवलपुर टुडे
    २०७९ फाल्गुन ९ | बिहान ०८:११ बजे

      काठमाडौँ ।  प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । 

      नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो । समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाले सुनाए । यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गरेको जानकारी पनि उनले दिए ।

      विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन् । रासस

        कमेन्टहरु