दाङमा खाना पकाउने ग्यास पड्किँदा दुई जना घाइते


दाङ, फागुन ४ । दाङको तुलसीपुर उपमहानगरपालिका – १६ लहलौरामा खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते भएका छन् । खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भएर पड्किँदा सोही स्थानका ५० वर्षीय कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका – ५ घर भई हाल तुलसीपुर – १६ मै बस्दै आएका २९ वर्षीय आशिष खनाल घाइते भएका हुन् ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बिहीबार बिहान साढे ८ बजे तुलसीपुर – १६ मा रहेको कृषि बीउ उत्पादन कम्पनीमा खाना पकाउने क्रममा सिलिन्डर ग्यास पड्किँदा केसीको कम्मरमुनिको भाग जलेको छ । खनालको दुबै हात र खुट्टा जलेको कार्यालयले जनाएको छ ।
उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज बाँके रिफर गरिएको छ । घाइतेमध्ये केसीको अवस्था गम्भीर रहेको र खनालको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।





