गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा


नवलपुर, फागुन ३ । गण्डकी प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले सरकार स्थापना दिवसका अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानलाई बिदा दिएको हो ।
गण्डकी प्रदेशमा २०७४ फागुन ४ गते एमाले नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री नियुक्त भएका थिए । सोही दिनलाई प्रदेश स्थापना दिवसका रुपमा मनाउन प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले प्रकाशन गरेको प्रदेश राजपत्रमा चाडपर्व तथा दिवसमा दिइने बिदामा प्रदेश स्थापना दिवस पनि समेटिएको छ । प्रदेश स्थापना दिवसबाहेक प्रदेश सरकारले भानु जयन्ती, कोजाग्रत पूर्णिमा र चैतेदसैँमा बिदा दिँदै आएको छ ।
गण्डकी प्रदेश सरकारले स्थापना दिवसका अवसरमा बिहीबार विभिन्न कार्यक्रमको आयोजना गर्दैछ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीका अनुसार वार्षिकोत्सवलाई भव्य रूपमा मनाउने तयारी गरिएको छ । उनका अनुसार बिहान ७:३० बजे शहीदचोकस्थित शहीद स्तम्भमा माल्र्यापणको कार्यक्रम रहेको छ । त्यसपछि शहीदचोकदेखि पोखरा सभागृहसम्म प्रभातफेरी गरी सभागृहमा वार्षिकोत्सवको मूल समारोह आयोजना गरिएको छ ।
समारोहमा प्रदेशका उत्कृष्ट कर्मचारीको घोषणा, विपद् व्यस्थापनमा खटिएर उत्कृष्ट काम गर्ने सुरक्षाकर्मीको सम्मान र मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिताका च्याम्पियन टोलीलाई पुरस्कार प्रदान गरिने सचिव अधिकारीले जानकारी दिए ।





