चितवन सौराहामा फुड फेष्टिबल सुरू : सिँगारियो सौराहा, खचाखच पर्यटक


चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा पर्यटक भित्र्याउन आइतबारदेखि फुड फेस्टिबल सुरू भएको छ ।
प्रणय दिवसको अवसर पारेर रेस्टुरेन्ट एण्ड बार एसोसिएसन रेवान सौराहाले फेष्टिवल आयोजना गरेको हो । प्रणय दिवस मनाउन आन्तरिक पर्यटकहरु सौराहा आउन थालिसकेका छन् । सौराहाका अधिकांश होटलहरु भरिएका छन् ।
फागुन २ गते पर्ने प्रणय दिवसमा सौराहामा पर्यटकहरु खचाखच हुन्छन् । अघिकांश होटल बुकिङ भइसकेका छन् । आइतबारदेखि नै पर्यटकहरु आउन सुरू भइसकेको फेष्टिवलका संयोजक ध्रुव गिरीले बताए । सौराहामा विदेशी पर्यटकको संख्या पनि उत्तिकै छ । गन्तव्य घुम्न आएका विदेशी पर्यटकहरुले सौराहामै प्रणय दिवस मनाउँछन् ।
सौराहा अहिले आन्तरिक पर्यटकले भरिएको छ । आइतबार मात्र सौराहामा २ हजार पर्यटक भित्रिएको संयोजक गिरीले जानकारी दिए । ‘पर्यटक आगमनले हामी उत्साहित भएका छौँ’, सौराहाका स्थापित व्यवसायीसमेत रहेका संयोजक गिरीले भने, ‘फुड फेष्टिवललाई पर्यटक भित्र्याउने दरिलो माध्यमका रुपमा विकास गर्दैछौँ ।’
प्रणय दिवस मनाउन परिवार तथा पे्रमिल जोडीको स्वागतका लागि व्यवसायीहरुले सौराहालाई सिँगारेका छन् । हात्तीचोकदेखि गैँडाचोकसम्मको क्षेत्रमा डालोमा बत्ती राखेर भिलिमिली बनाइएको छ । ‘प्रणय दिवस मनाउन अन्त जान नपर्ने गरी हामीले तयारी गरेका छौँ’, फेष्टिवलका संयोजक ध्रुव गिरीले भने, ‘सौराहामा प्रणय दिवसलाई रोमान्टिक बनाउँदैछौँ ।’
सडकमै खाऔँ : सडकमै रमाऔँ भन्ने नाराका साथ हात्तीचोकदेखि ड्याकसम्म र मल्लुचोकदेखि गैँडाचोकसम्मको बजार क्षेत्रमा व्यवसायीहरुले सडककिनारमा खानाको परिकार बनाएर पर्यटकलाई पस्किनेछन् । सौराहाको मुख्य चोकमा हरेक साँझ विभिन्न जातजातिको झाँकी प्रस्तुत गरिनेछ ।
झाँकीसँगै रमाएर सडककिनारमै आफूलाई मन पर्ने खानाका परिकार खान पाउने व्यवस्था गरिएको रेवान सौराहाका अध्यक्ष नरेश गिरीले बताए । सौराहामा आयोजित एक औपचारिक कार्यक्रम प्रदेश सरकारका पूर्वमन्त्री तथा सांसद् कृष्ण खनालले उद्घाटन गरेका छन् । सो अवसरमा उनले सौराहालाई परिमार्जन गर्दै लैजानुपर्ने अवस्था आएको बताए ।
कोरोना महामारीले थलिएको पर्यटनलाई उठाउन नयाँ–नयाँ कुराहरु ल्याउनुपर्ने उनले बताए । पर्यटनसँग सम्बन्धित विकासलाई जोड दिँदै खानाको गुणस्तर सुधारमा समेत ध्यान दिनुपर्ने उनले बताए । रत्ननगरका मेयर प्रल्हाद सापकोटाले मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहाको विकास यथास्थितिमा रहेको भन्दै व्यवसायीहरु एकजुट हुनपर्ने बताए ।
स्थानीय सरकार र व्यवसायीबीचको एकताले मात्र सौराहाको विकास सम्भव रहेको भन्दै यहाँको पर्यटनको दायरा फराकिलो बनाउनुपर्ने उनले बताए । सौराहालाई बाढीको जोखिमबाट जोगाउन फेब्रिक ड्याक निर्माण र साइकल लेनसहित नमुना सडक निर्माण सुरू भइसकेको उनले बताए ।
पाँच वर्षभित्र नेपालकै नमुना पर्यटकीय गन्तव्य बनाउने भन्दै उनले विकास निर्माणको काममा अवरोध हुन नहुने बताए । रेवानका केन्द्रीय अध्यक्ष अरनिको राज भण्डारीले निकुञ्जका कारण सौराहाको पर्यटन चलेको भन्दै जैविक विविधता जोगाउनेतर्फ पनि व्यवसायी सचेत हुन आवश्यक रहेको बताए ।
‘सौराहाको पर्यटन सफारीमा निर्भर छ’, उनले भने, ‘यो विश्वमै नौलो विषय हो ।’ उनले बैंकहरुको चर्को व्याजदरका कारण व्यवसायी मर्कामा परेको बताए । ‘देशको वित्तीय क्षेत्र नै अनियन्त्रित भयो’, उनले भने, ‘यसको मार हामी व्यवसायीले भोग्न बाध्य भएका छौँ ।’
फेष्टिवलमा हरेक दिन हुने सडक फुडसँगै विभिन्न जातजातिका झाँकीहरुको प्रस्तुति रहनेछ । तीन दिनसम्म सञ्चालन हुने फुड फेष्टिवलमा स्थानीय परम्परागत तथा विदेशी खाना, स्थानीय कला–संस्कृति, विभिन्न जातजातिको झाँकी प्रस्तुत हुने फेष्टिवलका सह–संयोजक नवीन नेपालले जानकारी दिए । नेपालका विभिन्न समुदाय र जातिका खानाका परिकारदेखि अन्तर्राष्ट्रियस्तरका खानाको परिकार उपलब्ध हुने फुड फेष्टिवलमा दैनिक ५ हजार पर्यटकले अवलोकन गर्ने आयोजकको अनुमान छ । करिब ६० लाखबराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।
रेवान सौराहाका अध्यक्ष नरेश गिरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं–६ का वडाध्यक्ष किरण महतो, रेवान महिला समूहकी अध्यक्ष लक्ष्मी विडारी, क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम रेवानका महासचिव सूर्यबहादुर रिमालले सञ्चालन गरेका थिए । फेष्टिवल उद्घाटन हुनुपूर्व सौराहामा शोभायात्रा निकालिएको थियो ।





