वीरगन्जबाट स्रोत नखुलेको ८ लाख नगदसहित एक युवक पक्राउ

नवलपुर टुडे
२०७९ माघ २९ | मध्यान्ह ०३:१० बजे

वीरगन्ज, माघ २९ । वीरगन्जबाट स्रोत नखुलेको आठ लाख नगदसहित एक जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीको बिओपी वीरगन्जबाट खटिएको टोलीले आइतबार बिहान पौने १२ बजे वीरगन्ज महानगरपालिका-१६ शंकरा आचार्य गेटबाट इनरवा बस्ने २५ वर्षीय रामप्रवेश कुमारलाई पक्राउ गरेको सशस्त्र प्रहरीका प्रवक्ता एवं एसएसपी पुरूषोत्तम थापाले जानकारी दिए ।
कुमार सवार बिआर ०५ एभी ३४७७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उनको हेल्मेटमा लुकाएको अवस्थामा एक हजार दरको ७५० वटा र एक सयका ५०० थान गरी जम्मा ८ लाख बरामद भएको हो ।
उनीमाथि थप अनुसन्धान गर्न नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।





