समाचार

    गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा अघि बढाउने

    नवलपुर टुडे
    २०७९ माघ २९ | मध्यान्ह ०२:१० बजे

      काठमाडौं, माघ २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अघि बढाउने विषयमा छलफल गरेका छन् ।

      प्रधानमन्त्री प्रचण्डले आइतबार गेटा मेडिकल कलेजको मोडालिटीका बारेमा सुदूरपश्चिम क्षेत्रका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने वहालवाला तथा पूर्वसांसद, मन्त्री, विषय विशेषज्ञ, नेपाल सरकारका मुख्यसचिव, शिक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन् ।

      फागुन १ गतेदेखि विकास आयोजनाहरूको अनुगमन र निरीक्षणका लागि आफ्नो कार्यकालको पहिलो भ्रमणका क्रममा सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जानुअघि भएको एक छलफलमा प्रधानमन्त्री प्रचण्डले यो घोषणा गरेका हुन् । छलफलका क्रममा प्रचण्डले विकास आयोजनाहरूको अनुगमन गर्ने क्रममा पहिलो भ्रमण सुदूरपश्चिमबाटै गर्न लागेको जानकारी दिए । गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा विकास गर्नु आफ्नो लागि गौरवको विषय भएको प्रचण्डको भनाइ छ ।

      गेटा मेडिकल कलेजको पूर्वाधार निर्माणलगायतका कामहरूसमेत प्रचण्ड पहिलो र दोस्रोपटक प्रधानमन्त्री भएको बेला अघि बढेका थिए ।

        कमेन्टहरु