बिक्री आम्दानी घटेपनि कसरी बढ्यो नेपाल टेलिकमको नाफा


काठमाडौ । नेपाल टेलिकम लिमिटेड (NTC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा र ईपीएस दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.१६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बिक्री आम्दानी घटेपनि कम्पनीको अन्य आम्दानी बढेको र खर्च नियन्त्रण गर्न सफल भएका कारण खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको बिक्री वितरण आम्दानी ५.८८ प्रतिशत घटेको छ भने अन्य आम्दानी ४४.६४ प्रतिशत बढेको छ। कम्पनीको कुल आम्दानी भने समीक्षा अवधिमा ०.५१ प्रतिशत बढेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४३ रुपैयाँ ३१ पैसा रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ४७ रुपैयाँ २८ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५१२ रुपैयाँ ९२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८.३७ गुणा रहेको छ।
१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७४ करोड ३२ लाख रुपैयाँ सञ्चित छ।





