राष्ट्रपति भण्डारीको सवारीको क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरीलाई निलम्बित गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले वरिष्ठ हवलदार शम्भुजंग गुरुङलाई निलम्बन गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी पोशराज पोखरेलले जानकारी दिए ।
गुरुङ प्रहरी वृत्त जनसेवामा कार्यरत थिए । शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी बानेश्वरस्थित संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गरेर फर्किने क्रममा बाटो खाली गराउँदा वीर अस्पताल बाहिर हिँडिरहेका नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि त्यहाँ सुरक्षामा खटिएका वरिष्ठ हवल्दार गुरुङले लाठी चार्ज गरेका थिए ।
अस्पतालमा शल्यक्रिया सम्पन्न गरी घर निस्किने क्रममा आफ्नो परिचय पत्र देखाउँदा देखाउँदै पनि अस्पताल परिसर भित्रै प्रहरीले बाटो खाली गराइएको बेलामा हिँडेको भन्दै सिंहलाई कुटपिट गरेको थियो । कुटपिटबाट उनको टाउकोमा चोट लागेको थियो ।





