समाचार

    बर्दघाटको टिसिएन चोकबाट ट्रकसहित यूरिया मल नियन्त्रणमा

    नवलपुर टुडे
    २०७९ माघ २६ | बिहान ११:१० बजे

      नवलपरासी, माघ २६ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका – ४ टिसिएन चोकबाट प्रहरीले ट्रकसहित अवैध मल नियन्त्रणमा लिइएको छ ।

      विशेष सूचनाको आधारमा बिहीबार बिहान साढे सात बजेतिर ईलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक वीरेन्द्र के.सी.को कमाण्डमा खटिएको टोलीले पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना ७ ख ९२४३ नं. को ट्रकलाई चेकजाँच गर्ने क्रममा अवैध रूपमा लुकाई छिपाई ल्याएको मल बरामद गरेको हो ।

      युरिया मल ४२७ बोरा र डिएपी मल १२ बोरा रहेको प्रहरीले जनाएको छ । युरिया मलको अन्दाजी मुल्य रु. ५,१२,४०० र डिएपी मलको अन्दाजी मूल्य १४,४०० गरी जम्मा मूल्य रु ५,२६,८०० बराबरको अवैध मल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।

      ट्रक र ट्रक चालक चितवनको भरतपुर उपमहानगरपालिका – १६ बस्ने अन्दाजी २४ वर्षको सन्दिप न्यौपानेलाईसमेत प्रहरीले नियन्त्रणमा लिईएको छ । उक्त ट्रकमा रुपन्देहीबाट धादिङको धार्केमा ५२५ बोरा चोकर ढुवानी गर्ने भनि चोकरको बिल बनाई चोकर जम्मा ३९ बोरा लोड भएको थियो ।

      नियन्त्रणमा लिइएको ट्रक, ट्रक चालक र मललाई आवश्यक कार्बाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरी नायब उपरीक्षक पाण्डेयले जानकारी दिए ।

        कमेन्टहरु