रम्भा गाउँपालिकाले गाउँमै पाइने जडीबुटीबाट ‘च्यवनप्राश’ उत्पादन गरी खुवाउँछ ज्येष्ठ नागरिकलाई


टोप बहादुर कामु
पाल्पा, माघ २६ । पाल्पाको रम्भा गाउँपालिकाले गाउँघरमै पाइने जडीबुटीबाट च्यवनप्राश उत्पादन गरेको छ । नागरिक आरोग्य सेवा केन्द्र र रम्भा गाउँपालिकाको सहकार्यमा गाउँमै पाइने विभिन्न खालका जडीबुटीबाट पौष्टिक आहार ‘च्यवनप्राश’ उत्पादन गरेको हो ।
पालिकाभरिका ज्येष्ठ नागरिकलाई पौष्टिक आहारको रूपमा वितरण गर्ने गरी च्यवनप्राश उत्पादन गरिएको सेवा केन्द्रका कविराज मिलन आचार्यले जानकारी दिए । उनका अनुसार रम्भा गाउँपालिकाले उत्पादन गरेको च्यवनप्राश आयुर्वेदको चरक समीताको रसायन ग्रन्थमा टेकेर तयार गरिएको हो । उत्पादन गरिएको च्यवनप्राशमा अमलासहितका ४४ प्रकारका जडीबुटीको मिश्रण रहेको छ । मिश्रण गरिएका जडीबुटीको मापदण्ड तयार गरेर बनाइएको र यसको सेवनबाट स्वास्थ्यका लागि फाइदा हुने केन्द्रको भनाइ छ ।
हालसम्म ४०० किलोग्राम च्यवनप्राश उत्पादन भइसकेको पालिकाले जनाएको छ । च्यवनप्राश उत्पादन तथा निर्माणका लागि पालिकाले आवश्यक बजेट खर्च गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । गाउँमा पाइने जडीबुटी तथा वनस्पतिबाट च्यवनप्राश उत्पादन गरेर ज्येष्ठ नागरिकलाई पौष्टिक आहारका रूपमा वितरण गरिएको उनले जानकारी दिए । बजारबाट खरिद गर्दा बढी मूल्य र गुणस्तरमासमेत कमी हुने भएकोले कम लगानीमा पालिकाले नै उत्पादन गरेको उनको भनाई छ ।
उत्पादन भएको च्यवनप्राशको सेवनले ज्येष्ठ नागरिकमा भएका बाथ रोग, श्वासप्रश्वास, टाउको दुखाई र चिसोबाट जोगिनसमेत सहयोग पुग्ने आयुर्वेदका चिकित्सकको भनाई छ । पालिकाले उत्पादन गरेको च्यवनप्राश हाल पालिकाभित्रका ज्येष्ठ नागरिकलाई वितरण गरिएको छ । पालिकाभित्रका ७० वर्षभन्दा माथिका एक हजार २८२ ज्येष्ठ नागरिकलाई च्यवनप्राश वितरण गर्ने योजना रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तुजंग रानाले बताए ।
पालिकामै उत्पादन भएको च्यवनप्राशको प्रयोगबाट ज्येष्ठ नागरिकको स्वास्थ्यमा सकारात्मक परिवर्तन देखिने प्रमुख प्रशासकीय अधिकृत रानाले विश्वास व्यक्त गरेका छन् । च्यवनप्राशको व्यावसायिक रूपमा उत्पादन गर्ने भन्ने विषयमा भने हालसम्म कुनै योजना नरहेको पालिकाले जनाएको छ ।





