देश

    नेपाल सरकारले टर्कीमा भूकम्प पीडितका लागि मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने

    नवलपुर टुडे
    २०७९ माघ २५ | मध्यान्ह ०४:१० बजे

      काठमाडौं, माघ २५ । नेपाल सरकारले टर्कीमा राहत र पुन:स्थापनाका लागि मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने भएको छ । टर्कीमा गएको विनासकारी भुकम्पपश्चात् भएको भौतिक तथा मानविय क्षति साथै उद्धार कार्यलाई निरन्तरता दिन नेपाल सरकारले सहयोग पठाउने निर्णय गरेको हो । 

      बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को दशौं बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले दिएको जानकारीअनुसार बैठकमा प्रधानमन्त्री दाहालले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सक्दो सहयोग गर्नुपर्ने बताएका थिए ।

      बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको छ । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापतिलगायत समितिका पदाधिकारी र सदस्यहरू उपस्थित थिए ।

      टर्कीमा भूकम्पमा परी करिब ९ हजार बढीको ज्यान गएको छ भने ठूलो भौतिक क्षति भएको छ ।

        कमेन्टहरु