अवैध लागूऔषध सहित २ जना पक्राउ

नवलपुर टुडे
२०७९ माघ २३ | मध्यान्ह १२:१० बजे

पर्सा । वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित लागूऔषध वनरेक्स एकसय एमएलको ३ सय ५८ बोतल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा जगरनाथपुर गाउँपालिका–१ बिसुनपुर्वा बस्ने २० वर्षीय अबु अयुव असरफ र वीरगञ्ज महानगरपालिका–२ छप्कैया बस्ने २८ वर्षीय ईजहार आलम रहेका छन् ।
वडा प्रहरी कार्यालय विर्ता र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको संयुक्त टोलीले ना.२ च ७९०५ नम्बरको टाटा सुमो गाडीलाई जाँच गर्ने क्रममा गाडीको बर्नटमा सेतो प्लाष्टिकको २ वटा बोराभित्र लुकाई छिपाइ ल्याएको उक्त लागूऔषध फेला पारी गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रासस





