काठमाडौको न्युरोडबाट साढे ७८ लाख रुपैयाँ नगदसहित दुईजना पक्राउ

नवलपुर टुडे
२०७९ माघ २२ | मध्यान्ह ०६:१० बजे

काठमाडौं, माघ २२ । प्रहरीले काठमाडौंको न्युरोडबाट साढे ७८ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका–९ घर भई काठमाडौं बिजुलीबजार बस्ने २३ वर्षीय किशोर चौधरी र कैलाली गोदावरी नगरपालिका–१० का ५९ वर्षीय दिपेन्द्र बहादुर मल्ल छन् ।
नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश/निर्देशनविपरीत ईजाजतपत्र नलिई वित्तीय कारोबार (हुन्डी) गरिरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको छ ।





