गुल्मीमा महिला हत्या प्रकरण: रहस्यमय बन्दै, १० जनाको टीम अनुसन्धानमा व्यस्त


गुल्मी । गुल्मीमा गत आइतबार एक महिलाको विभत्स हत्या भएकामा प्रहरीले अझैसम्म पनि दोषी पत्ता लगाउन सकेको छैन ।
प्रहरीले अनुसन्धान जारी राखेको भएपनि हालसम्म प्रगति नदेखिएको हो । गत आइतबार बिहान गुल्मीको मुसिकोट नगरपालिका–७ वामिटक्सार बजार नजिकै पर्ने न्वारास्थित आफ्नै होटलमा ५७ वर्षीया अविवाहित महिला गङ्गादेवी शेरचनको हत्या भएको थियो । होटलभित्र रगताम्य अवस्थामा उनको शव फेला परेको थियो । दुवै हात र खट्टा बाँधेर सेलो टेपले समेत बेरिएको थियो ।
यो विभत्स हत्याकाण्डको रहस्य बाहिर स्थानीय आक्रोशित बनेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अर्जुन रानाभाटले प्रहरीले अनुसन्धान जारी राखेको बताए । उनले भने, ‘हामीले अनुसन्धान जारी राखेका छौं, डीएसपी माधवराज खरेलको नेतृत्वमा १० जनाको प्रहरी टोलीले घटनास्थल क्षेत्रमै रहेर अनुसन्धान गरिरहेको छ ।’
अनुसन्धान जारी रहेपनि उल्लेख्य प्रगति विवरण प्राप्त हुन नसकेको उनको भनाइ छ । अहिलेसम्म करिव ६०÷७० जना स्थानीयलाई कार्यालयमा झिकाएर सोधपुछ गरिएको रानाभाटले उल्लेख गरे । मृतक शेरचन विगत लामो समयदेखि त्यस घरमा होटल गरेर बसेकी अविवाहित महिला हुन् । उनको धनसम्पत्ति पनि प्रशस्त रहेको बताइन्छ । आर्थिक विषयकै कारण हत्या भएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । त्यसदिन दिउँसो ११ देखि १२ बजेको बीचमा एक जना ठेकेदार भनिने मान्छेसहित तीन जना मानिस उनको होटलमा आएको बताइन्छ ।
बेलुका फेरि तीनै ठेकेदार भनिने मानिससहित थप तीनजना होटेलमा प्रवेश गरेको मृतक शेरचनको छिमेकी जैकला कुमालको भनाइ छ । मृतक महिलाका सहोदर दाजु सुनिल शेरचनले बहिनीको हत्या सुनियोजित रुपमा भएको बताएका छन् । हत्याकाण्डबारे प्रहरीले अनुसन्धानमा ढिलाइ गरेको उनको गुनासो छ ।अनुसन्धानको पहिलो चरणमा घटनास्थलमा प्रहरीको तालिम प्राप्त कुकुर पनि ल्याएर कोशिस गरिएको थियो ।
तर, अहिलेसम्म अपराधी पत्ता नलाग्दा आफन्तजन निराश बन्नुका साथै घटना रहस्यमय बनेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले पनि हत्या अभियुक्त पत्ता लगाउन अनुसन्धान तीब्र पारिएको बताए ।





