सिरहाबाट १००० दरका चार सय ३५ नक्कली नोटसहित दुई जना पक्राउ

नवलपुर टुडे
२०७९ माघ २२ | बिहान ०९:१० बजे

सिरहा, माघ २२ । सिरहाबाट प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको विशेष टोलीले लहान नगरपालिका – १० का २७ वर्षीय अरमान शेख र लाहान – ९ का ३० वर्षीय मोहम्मद ओसिमलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट एक हजार दरका चार सय ३५ थान नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बण्डल, दुई थान मोबाइल सेट, सात थान सिमकार्ड तथा एक हजार पचपन्न रुपैयाँसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
गोप्य सूचनाको आधारमा प्रहरीको टोलीले सिरहाको लहानस्थित पशुपति माध्यमिक विद्यालयको अगाडिबाट उनीहरूलाई नक्कली नोटसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ ।





