नवलपरासीको विभिन्न स्थानबाट भन्सार छली ल्याइएका लत्ताकपडा बरामद


नवलपरासी, माघ २२ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका – २ हरपुरबाट प्रहरीले अवैध रूपमा भन्सार छली ल्याइएको लत्ताकपडा बरामद गरेको छ ।
गएराती ९ बजे ईलाका प्रहरी कार्यालय अमानिगंजबाट प्र.ब.ना.नि. राजेश भट्टराईको कमाण्डमा खटिएको प्रहरी टोलीले लेडिज कुर्ता १३२ थान बरामद गरेको हो । जसको अन्दाजी मूल्य रु १,३२,००० रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।
यस्तै प्रहरी चौकी गेर्मीबाट प्र.स.नि. खिमानन्द पराजुलीको कमाण्डमा खटिएको प्रहरी टोलीले गएराती साढे १० बजेतिर पाल्हिनन्दन गाउँपालिका – ४ लौहरौलीबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको लेडिज ज्याकेट १४ पिस बरामद गरेको छ । जसको अन्दाजी मूल्य रु ३५,००० रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा प्रहरीलाई देखेर कपडा त्यही छाडी मान्छे भने मोटरसाइकल लिइ फरार भएका थिए ।
बरामद गरिएका उक्त लत्ताकपडा आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय पठाउने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेयले जानकारी दिए ।





