गुल्मीमा भारतीय नागरिकको हत्या आरोपमा एक दम्पती पक्राउ


इन्द्रजित नेपाली
गुल्मी, माघ २१ । भारतीय नागरिकको हत्या गरेको आरोपमा गुल्मीमा एक दम्पती पक्राउ परेका छन् । भारतको सुगौली पूर्वी चम्पानगर ८ का ४४ वर्षीय शेख आलिनामको हत्या गरेको अभियोगमा सत्यवती गाउँपालिका–१ का छविलाल अधिकारी र उनकी श्रीमती विष्णु अधिकारी पक्राउ परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले शनिबार पत्रकार सम्मेलन गरी अधिकारी दम्पतीलाई सार्वजनिक गरेको हो । गत १९ गते भारतीय नागरिक आलिनामको शव स्याङ्जा र गुल्मीको सिमाना कालीगण्डकी नदीको किनारमा फेला परेको थियो । टाउको तथा निधारको भागमा गहिरो चोट लागेकाले हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानका क्रममा १२ माघमा अधिकारी दम्पतीले आलिनामको हत्या गरेको खुलेको थियो । आलिनामले मदिरा सेवन गरेर छविलालकी श्रीमतीलाई यौनजन्य क्रियाकलाप गरेपछि हथौडा प्रहार गरी हत्या गरेर दम्पती मिलेर बोरामा राखेर घर नजिकैको पुलबाट कालिगण्डकी नदीमा फालेको प्रहरीसमक्ष स्विकार गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।
पक्राउ परेका दम्पतीलाई हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार जिल्ला अदालत गुल्मीसँग अनुमति लिने तयारी भइरहेको प्रहरीले जनाएको छ ।





